बरु उ बेलामा नै विदेश गएको भए (कविता)

उसलाई संघीयता मन परेकै छैन
धर्मनिरपेक्षता पनि चाहिएको छैन
चिया पसल, चोक, चौतारामा बसेर संघीयता घाँडो हो भन्छ,
धर्म मासे चोरहरुले भन्छ ।

भ्रष्टाचार देखेर उसको रगत उम्लिन्छ
सरकारी अड्डामा
कुर्दाकुर्दा काम नबन्दा रिसले चुर हुन्छ,
सब खतम बनाए चोरहरुले भन्छ ।

उ ट्राफिक जाममा पर्छ, धुलो–धुवाँ खान्छ
ह्वास्स नाकमा फोहोरको दुर्गन्ध पर्छ
दायाँबायाँ हेर्छ र मनमनै भन्छ,
साला चोरहरु खान मात्रै जानेका छन् ।

उ बिरामी हुन्छ, थलिन्छ
सेवा भन्दा बिल ठूलो पाउँछ
अस्पतालको बिल तिर्न ऋण काड्छ
डिस्चार्ज भएर निस्किदै गर्दा भन्छ,
सब एक से एक लुटेरा मात्र छन् ।

सरकारी स्कुलमा शिक्षकको राजनीति देख्छ
बोर्डिङ्ग स्कुलबाट छोरीको बिल आउँछ
विभिन्न शिर्षकको फी पढ्दापढ्दै आफ्नो आम्दानी सोच्न पुग्छ
उ थचक्क खाटमा बस्दै भन्छ,
माफियाले फेरि बढाएछ्न फि !

ट्रकलाई साइड दिँदा उ खाल्डामा पर्छ
लड्छ, कुइनोमा काट्छ, घुँडाबाट पाइन्ट फाट्छ
मटरसाइकल स्टार्ट हुँदैन
घाममा डोराउँदै पसल पुर्‍याउँछ
पानी मागेर हात धुँदै भन्छ,
साला दलालहरु फेरि आउलान् नि भोट माग्न ।

परबाट एक हुल मान्छे जिन्दाबाद ! हाई–हाई भन्दै आएको देख्छ
उ त्यही हुलमा मिसिन्छ, झण्डा बोक्छ र भोट माग्न हिँड्छ ।

फेरि त्यही कहानी दोहोरिने छ
तिमीलाई त्यसले चिन्ने छैन
समस्या झनै बढ्ने छन्
र तिमी भन्ने छौ
साला, बरु बेलैमा विदेशीएको
भए‍‍…।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१