
काठमाडाैं । आफूलाई साधारण सदस्य र संघीय सांसदबाट निष्कासित गर्ने निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठ पुनरावेदनमा गएका छन् ।
पार्टी केन्द्रीय कमिटीले आफूलाई साधारण सदस्यबाट पनि निष्कासित गरेपछि त्यसविरुद्ध सफाइका लागि उनी आइतबार पुनरावेदनमा गएका हुन् ।
कारबाही घोषणाका क्रममा सभापति रवि लामिछानेले पनि ढाकालाई पुनरावेदन सुविधा हुने बताएका थिए ।
रास्वपा पुनरावेदन समितिमा विपिन आचार्य, अग्निशिखा धिताल र दीपक बोहोरा रहेका छन् ।
यसअघि डा. भरतमणि देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समितिमा उनले लिखित स्पष्टीकरण बुझाएका थिए ।
त्यसपछि उनलाई समितिका संयोजक डा. देवकोटा र सदस्यहरु रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपानेसहितले बयान पनि लिएका थिए ।
त्यही समितिको सिफारिसका आधारमा रास्वपाले श्रेष्ठको सांसद पद खोस्दै पार्टीबाट पनि निष्कासन गरेको थियो ।