सांसद निशा डाँगीको स्वकीय सचिव पर्वतकी सुस्मिता क्षेत्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीकोे स्वकीय सचिवमा सुस्मिता क्षेत्री भएकी छन् । विराटनगरकी अपेक्षा सुबेदी र पोखराकी कविता आचार्य वैकल्पिकमा परेका छन् । भने पर्वतकी क्षेत्री छनोट भएकी हुन् ।

डाँगीले नयाँ अभ्यास गर्दै खुल्ला प्रतिस्पर्धाबाट स्वकीय सचिव छनोट गरेकी छन् । आफन्त र आसेपासेलाई स्वकीय सचिव बनाउने अभ्यास तोड्दै उनले भ्याकेन्सी खुलाएकी थिइन् ।

गत चैत १६ गते निशाले एक साताको म्याद राखेर स्वकीय सचिवका लागि भ्याकेन्सी खुलाएकोमा ११६ जनाले आवेदन दिएका थिए । उनीहरूबाट पहिलो चरणमा ३५ जना छनोट भएका थिए भने १९ जनाले लिखित र मौखिक परीक्षा दिएका छन् । यसको नतिजा निशाले सामाजिक सञ्जालमा प्रकाशित गरेकी छन् ।

उम्मेदवारहरूको लिखित, मौखिकसँगै कम्युटर टेस्ट समेत गरिएको थियो । शैक्षिक पृष्ठभूमि, कानून र राजनीतिको ज्ञान तथा अनुभव, नेतृत्व गर्ने क्षमता, सिर्जनशीलता आदि हेरेर मूल्यांकन गरेको निशाले जनाएकी छन् ।

रास्वपाकी समानुपातिक सांसद निशा प्रतिनिधिसभाकी कान्छी सदस्यसमेत हुन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७