• २०८३ असार १२
  • 2026 June 26, Friday

कर्णालीका चार मन्त्रीले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख तिलक परियारले कांग्रेसका तीन र माओवादीका एक मन्त्रीले बिहीबार शपथ ग्रहण गराएका हुन्।

कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेलले सामाजिक विकासमन्त्री, जाजरकोटका पार्टी सभापति बेदराज सिंहले आर्थिक मामिला तथा योजना मन्त्री, दैलेखका पूर्व पार्टी सभापति कृष्णकुमार बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र माओवादीबाट डोल्पाकी जलस्रोत तथा उर्जा विकास मन्त्री ऊर्मिला विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

विश्वकर्मा यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन्। माओवादी र कांग्रेसबीच जलस्रोत र उर्जा विकासलाई छुट्टै मन्त्रालय बनाउने सहमति भएपछि उनले मन्त्रीको शपथ लिएकी हुन्।

नेपाली कांग्रेस कर्णाली प्रदेश सभामा सिनियर नेतालाई ‘बाइपास’ गरी अन्य नेतालाई सिफारिस गरेको भन्दै असन्तुष्ट सांसदले केन्द्रमा गुनासो गरेपछि बुधबार हुने भनिएको शपथ रोकिएको थियो।