झुलाघाट नाकालाई थप व्यवस्थित र स्तरोन्नती गर्ने मुख्यमन्त्री शाहकाे भनाइ

बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बैतडीस्थित झुलाघाट नाकालाई व्यवस्थित र स्तरोन्नती गरिने बताएका छन् । नाकाको निरीक्षण र अवलोकन गर्न शुक्रबार बिहान झुलाघाट पुगेका मुख्यमन्त्री शाहले यो नाकालाई व्यवस्थित र स्तरोन्नती गर्ने बताए ।

झुलाघाट नाका भारतसँग जोडिएको पुरानो र ऐतिहासिक नाका भएकाले यो नाकाको व्यवस्थापन र स्तरोन्नतीमा प्रदेश सरकारले ध्यान दिने उनले बताए । उनले भने ‘झुलाघाट नाका भारतसँगको पुरानो नाका हो । यो नाकालाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्छ ।’

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको बिषय धेरै पहिलादेखि उठिरहेको भन्दै मुख्यमन्त्री शाहले पुल निर्माणका बिषयमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुरा उठाइने बताए ।

झुलाघाट मोटरेबल पुल निर्माणको बिषयमा आफूले परराष्ट्र मन्त्रीलाई ‘ब्रिफिङ’गरिसकेको बताउँदै मुख्यमन्त्री शाहले पुल निर्माणले साथर्कता पाउने कुरामा विश्वास गर्न उनले आग्रह गरे ।

उनले भने ‘झुलाघाटमा मोटरेबल पुल निर्माणको बिषय अहिले मात्रै होइन्, पहिलादेखि उठिरहेको छ । पुल निर्माणका बिषयमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला ठोस रुपमा कुरा उठ्छ । पुल निर्माणको काम अघि बढ्छ ।’

झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा दुवै देशलाई फाइदा हुने बताउँदै मुख्यमन्त्री शाहले दुई देशबीच रहेको पारिवारिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धलाई मजबुत बनाउन यसले भूमिका खेल्ने दाबी गरे । उनले भने ‘झुलाघाटमा मोटरेबल पुल निर्माणले दुवै देशलाई फाइदा गर्छ । मित्रराष्ट्र भारतसँगको व्यपार व्यवसाय बढाउन पनि यो पुलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

सीमा नाका झुलाघाटमा बोल्दै मुख्यमन्त्री शाहले नेपाल र भारतकाबीच सदियौँदेखि पारिवारिक सम्बन्ध रहेकाले यसलाई अझै प्रगाढ बनाउन कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिए । भारतसँग जोडिएका सीमा नाकाहरुमा समस्या नहोस भन्नका लागि कुटनीतिक पहल जरुरी रहेकोमा उनको जोड रहेको थियो ।

झुलाघाट नाकामा रहेको महाकाली भन्सार कार्यालयलाई व्यवस्थित गर्नका लागि पनि प्रदेश सरकारले पहल गर्ने मुख्यमन्त्री शाहले बताए । भन्सार कार्यालयमा कर्मचारीको अभाव रहेको बिषयमा जवाफ दिँदै उनले यो समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७