युएईको फराकिलो जित, सिंगापुर २ सय १ रनले पराजित

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएई र सिंगापुरबीचको खेलमा ७४१ रन बनेको छ।

आइतबार समूह ‘बी’ मा युएईले २०१ रनको जित निकालेको खेलमा दुवै इनिङ्ग्स गरी कुल ७४१ रन बनेको हो।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले अन्तिम बलमा अलआउट हुनुअघि ४७१ रन जोड्यो। ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ९ विकेटको क्षतिमा २७० रन बनायो।

खेलमा युएईले कुल २६ छक्का र ४१ चौका प्रहार गर्‍यो। यस्तै सिंगापुरले १० छक्का र २७ चौका हिर्कायो।

दुवै इनिङ्ग्समा गरी कुल ३६ छक्का र ६८ चौका प्रहार भयो।

एकदिवसीय फर्म्याटको खेलमा युएईले जोडेको यो अहिलेसम्मकै ठूलो स्कोर हो। यस्तै त्रिवि मैदानमा बनेको यो अहिलेसम्मकै उच्च स्कोर पनि हो।

युएईका दुई ब्याट्सम्यानले शतक प्रहार गरे। ओपनर तथा कप्तान मोहमद वासीम र विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले शतक प्रहार गरे।

वासीमले १६० रन बनाए। ८२ बल खेलेर आउट हुनुअघि उनले ९ चौका र १६ छक्का प्रहार गरे। उनले ६२ बलमा शतक पूरा गरे।

वासिमले गत महिना पनि कीर्तिपुर मैदानमा शतक हिर्काएका थिए। उनले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध ११९ रन बनाएका थिए।

वृत्यले ९६ बलमा शतक प्रहार गरे। उनले १३३ बलमा १७ चौका र ७ छक्काको मद्दतमा १७४ रन जोडे।

यस्तै आयन खानले ५० बलमा ७४ रन जोड्ने क्रममा ९ चौका र ३ छक्का हिर्काए।

बलिङमा सिंगापुरका अद्वृत्य भार्गवाले ४ विकेट लिए।

जवाफी ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा २७० रन जोड्यो। सिंगापुरका लागि मनप्रित सिंहले ६६ रन जोडे भने थिलिपन ओमाइदुराइले ५२ रन बनाए।

बलिङमा युएईका आयन खान, कार्तिक मियाप्पन र सचित शर्माले २-२ विकेट लिए।

समूहमा दोस्रो स्थानमा रहेको युएईले तीन खेलमा दुई जित हात पार्दै चार अंक जोडेको छ। शीर्ष स्थानको हङकङको दुई खेलबाट चार अंक छ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालले सुरुवाती दुवै खेलमा जित निकालेको छ। नेपालले तेस्रो खेल सोमबार साउदी अरेबियासँग मुलपानी मैदानमा खेल्दैछ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७