• २०८३ असार १२
  • 2026 June 26, Friday

जुट्याे संसदीय समितिको भागबण्डामा सहमति

काठमाडाैं । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागबण्डामा सहमति जुटेकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने र एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।

संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।

संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेसले पाउने भएको छ । १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४/४ जनाकाे सहभािगता रहने छ भने बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व गरिने छ ।

१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको छ ।

विपक्षीलाई पनि संसदीय समितिमा भागबण्डा दिएर नयाँ पद्धतिको विकास गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनका अनुसार संघीय संसदका १२ वटा समिति मध्ये एमालेले तीन वटा समितिकाे नेतृत्व गर्ने छ ।

यसैगरी, संवैधानिक परिषद सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको छ । १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेर टीआरसीकाे विषय टुंग्याउने सहमति भएकाे हाे ।

छलफलमा एमालेका अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए ।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।