जनताको रोजाइमा ‘टेक्नोक्रेट’ वा विशेषज्ञ किन ?

नयाँ  दल  खासगरि  राष्ट्रिय  स्वतन्त्र  पार्टीले  तीन  मध्ये  दुई  ठाउँमा  उपनिर्वाचन  जिते  पछि  नेपाली राजनीतिको माहोल रोचक बनेको छ । नयाँ दलको उदय पछि अनेकन् थरीका कुराहरु समाजमा सुनिन थालेका छन् । पहिला निराशा मात्रै सुनिन्थ्यो भने अहिले केही आशावादी कुरा पनि सुनिन्छन् । समाजको ‘पढेलेखेको वर्ग’ भनेर चिनिने उच्च शिक्षा हासिल गरेको, विदेश गएको, सहरी क्षेत्रमा जागिर खाने अथवा सरकारी जागिर खाने तप्काले अहिले परिवर्तन जरुरी छ भनिरहेको छ । यसको प्रभाव भूइँमान्छेमा समेत परेको छ । उनीहरू पनि आआफ्नो बुझाइमा पुराना दलहरुबाट हुँदैन नयाँ नै विकल्प हो भन्छन् । उप निर्वाचन पछि त यस्तो माहोल बनेको छ पुरानो दलका नेता कार्यकर्ता लज्जित र हताश देखिन्छन् ।

सामाजिक मनोविज्ञानको विशेषता नै यस्तै हो वा हामीलाई बाँच्नको लागि आशाको जरुरी पर्ने भएर हो हामी निराशाबीचबाट पनि आशाको खोजी गरिरहेका हुन्छौँ । नेपालीहरूमा पनि निराशाका बाबजुद पछिल्लो समय युवा, पढेलेखेका मानिस राजनीतिमा आए भने बल्ल केही हुन्छ भन्ने आशावादी मान्यता स्थापित हुन लागेको छ । प्रश्न यो होइन कि के आजसम्म पढेलेखेका मानिसहरु राजनीतिमा थिएनन् ? यद्यपि, पहिले–पहिले पढेलेखेका मानिसहरु नै राजनीति गर्दथे तर उनीहरू कुनै पनि विषयका विशेषज्ञ थिएनन् । त्यस कारण कुरा के हो भने अहिले ज्ञान र सीपबीचको फरक हराएको छ । वास्तवमा नेपाल जस्तो विश्वव्यापी पुँजीवादको एक किनाराको  समाजलाई  बाँच्नको लागि पनि  सीप  महत्वपूर्ण  भएको छ । ज्ञानभन्दा सीप बेच्न सजिलो हुने भएकाले सीप भएको मानिस धनी हुन्छ र ऊ नै सफल मानिन्छ ।

आफ्नो क्षेत्रमा अब्बल भनिएका मानिसहरु जस्तै अर्थशास्त्री, गभर्नर, सचिव, पत्रकार वा अन्य प्राविधिक विषय विज्ञ डाक्टर, इन्जिनियरहरू राजनीतिमा आउने र जनताले उनीहरुलाई विश्वास गर्ने अवस्था देखिएको छ । कस्तो पनि देखिन्छ भने आफ्नो निजी जीवनमा सफल हुने मानिस सार्वजनिक जीवनमा पनि हुन सक्दछ भन्ने मानिसहरूलाई लाग्न थालेको छ । यहाँ निजी र सार्वजनिक जीवन एक अर्कामा फरक विषय हुन् भनेर तर्क गर्न खोजिएको होइन तर सोच्नु पर्ने कुरा के पनि छ भने यी समान पनि होइनन् । यसका साथसाथै पुँजीवादले सफलता भनेको नै निजी श्रीवृद्धि हो भन्ने मान्यता स्थापित गरेको छ । त्यस कारण पनि  राजनीति  समाज  सेवा  हो  भन्ने  मान्यता  ओझेलमा  पर्दै  गएको  छ  ।  अहिले  राजनीति  सत्ता  र धन शक्तिका लागि बनेको छ । यसरी अगाडि बढ्दै जाँदा लोकतन्त्रलाई पुँजीवादले निल्न सक्ने  पनि देखिएको छ ।

यस लेखमा लोकतन्त्र र पुँजीवादको भविष्यभन्दा पनि हालका विषय नै उठाउन खोजिएको छ । माथि उठान भए अनुरूप हेर्दा प्रश्न उठ्छ किन विशेषज्ञहरूलाई जनताले विश्वास गर्ने वातावरण  बन्यो ?

रास्वपाको नारा नै ‘अब जान्नेलाई छान्ने’ रहेको छ । मानिसहरुले भन्ने पनि गर्छन् राजनीतिमा आएर चुनावै जितिसके पछि त्यो कसरी आफ्नो एक विषयको विशेषज्ञ मात्रै हुन्छ ? त्यो त राजनीतिज्ञ भयो नि ! चिया पसलका छलफलहरुमा कोही–कोहीले चुनाव जित्दैमा नेता भइँदैन भनेर भन्दछन् भने धेरैले यसलाई पर्ख र हेरको सहमतिमा टुङ्गाएका देखिन्छन् । यस लेखकलाई लाग्दछ कि बहसलाई अगाडि बढाउनु आवश्यक छ । किनकि, यस्ता आशा पहिले पनि आएर निराशामा बदलिएका छन् । परिणामस्वरूप अहिलेको अझै बढी निराशाको वातावरण बनेको हो । हामी आलोचनात्मक सुझाव दिएर नै राम्रो गर्न सक्दछौँ । किनकि, यसले हामीलाई एकातर्फ सम्भावित अझै ठूलो निराशाबाट जोगाउँछ भने पुराना/नयाँ दलहरु, नेता वा विशेषज्ञ नेता सबैका लागि सिर्जनात्मक दबाबको पनि काम गर्दछ ।

माथि नै सङ्केत भएअनुसार विषयलाई अगाडि बढाऔँ । अहिलेलाई के यी ‘विशेषज्ञ नेता’ले जनचाहना अनुसार काम गर्न सक्लान् त भन्नेतर्फ भन्दा पनि किन मानिसहरुले विशेषज्ञलाई पत्याउने र नेता बनाउने परिस्थिति बन्यो भन्नेतर्फ नै ध्यान केन्द्रित गरौँ । यसका लागि यहाँ मैले तीन ओटा कारणहरूको उठान गर्न चाहन्छु ।

पहिलो, विश्व व्यवस्थाको एक अङ्गको रूपमा रहेको नेपाल एक अर्थमा यस व्यवस्थाको सर्वहारा हो । यसलाई बाँच्नकै लागि पुँजीवादसँगै समायोजन गर्दा भ्याइनभ्याइ छ । राजनीतिज्ञ नै आए पनि गर्ने भनेको  त्यही  समायोजनको  काम  हो  ।  वास्तवमा  त्यो  समायोजन  प्रक्रियामा  राजनीतिज्ञका  सामाजिक परिकल्पनाहरुले  समस्या  सिर्जना  गरेका  हुन्छ  ।  जस्तै,  समाजवादी  परिकल्पना  भएको  राजनीतिज्ञले पुँजीवादसँगको समायोजनमा आनाकानी गर्न सक्दछ । त्यस कारण कथित विकासमा बाधा सिर्जित भएको कुरा समाजका विद्वानहरूबाट बाक्लै सुनिन्छ । अहिले समाजको अवचेतन मानसिकतामा के देखिन्छ भने सबैभन्दा उत्तम विकल्प पुँजीवादी विचारबाट ओतप्रोत, खासगरि अर्थ विशेषज्ञलाई सत्तामा पुर्‍याउन पाए विकास हुन्थ्यो कि भन्नेतर्फ मानिसहरुको बहस केन्द्रित भएको देखिन्छ । अहिलेका स्वर्णिम वाग्लेको मात्रै  सन्दर्भ होइन । पूर्व गभर्नर युवराज खतिवडा पनि आशाले हेरिएका अर्थमन्त्री थिए । भन्न खोजिएको के हो भने पुँजीवादी उद्देश्यलाई अँगाली सकेको नेपाल जस्तो गरिब देशलाई चाहिएको विशेषज्ञ मात्रै हो जसले पुँजीवादी नीतिहरूको कार्यान्वयन गरोस् न कि प्रश्न ।

दोस्रो, वास्तवमा पुँजीवादले पछिल्लो समयमा राजनीतिको स्थान हडप्दै गएको छ । राजनीति गर्नका लागि आफ्नै आयस्रोतमा निर्भर हुनुपर्ने भएको हुनाले पुँजीवादी बजारमा नबिक्ने मानिसले आफ्नो जीवनको सुरक्षा पनि गर्न नसक्ने अवस्था छ । यसरी पुँजीवादले लामो समयदेखि विशेषज्ञहरूको उत्पादन गरेको छ भने राजनीतिमा मध्यम वा निम्न मध्यम खाले मानिसहरू मात्रै रहने परिस्थिति बनेको छ । कुनै राम्रो विद्यार्थी राजनीतिज्ञ बन्न चाहँदैन किनकि त्यहाँबाट उसको जीवन तथा परिवारका लागि खाने बस्ने प्रबन्ध हुन सक्दैन । अहिले भएको के हो भने व्यवस्थाको दबाबमा सक्षम मानिस विशेषज्ञ बन्ने र त्यो हुन नसक्ने मानिसले राजनीति गर्ने । राजनीति गर्नेले पनि खानु र बस्नु पर्ने भए पछि राजनीतिलाई नै व्यवसाय बनाउने अहिले प्रवृत्ति देखिएको छ । मानिसहरू यसलाई झोले प्रवृत्ति भनेर चिन्न थालेका छन्। छोटकरीमा दोस्रो कारण बताउनु पर्दा झोले प्रवृत्तिका कारण मानिसहरू वाक्क भएर पनि विशेषज्ञहरूलाई भोट हाल्न थालेका छन् ।

तेस्रो कारण हो बाध्यात्मक परिस्थिति । अघिल्लो अनुच्छेदमा उल्लेख गरिए झैँ अहिले समाजमा राजनीति शास्त्र पढ्ने विद्यार्थी भेट्नै मुस्किल छ । पढी हाले पनि आफ्नो जीवन चलाउन त्यो विद्यार्थी राजनीति शास्त्रको कुनै एक साँघुरो विषयको विशेषज्ञ बनेर त्यसलाई बजारमा बेचर बाँच्नु पर्ने अवस्था छ । भन्नुको मतलब उक्त व्यक्तिले राजनीति गर्ने कि नगर्ने भन्ने निर्णय उसको ज्ञानका आधारमा नभएर बजारको दबाबमा गर्ने गर्दछ । बजारमा नबिक्ने मानिसलाई अहिले श्रीमान् वा श्रीमतीले पनि विश्वास गर्न गाह्रो छ । यसको अर्थ हो पहिलो कुरा विद्यार्थी राजनीति शास्त्र पढ्नै चाहँदैनन् । दोस्रो कुरा हो पढेकोले पनि प्रयोग गर्न सक्दैनन् । यसरी समाजमा राजनीतिज्ञको अभाव भएका कारण पनि मानिसहरूले विशेषज्ञलाई नेताका रूपमा चुन्न बाध्य छन् ।

माथि उल्लेख गरिएका तीन कारण मात्रै विशेषज्ञलाई नेताका रूपमा चुन्नुका कारणहरू होइनन् । अन्य धेरै कारणहरू मध्ये यी प्रमुख रूपमा देखिएका भने छन् । हुन त ती तीनै कारणहरुलाई पुँजीवादी व्यवस्थाको विश्लेषणले समेट्न सक्दछ । मतलब, यी सबै कारणहरूको कारण पुँजीवाद हो भन्न पनि सकिन्छ । यद्यपि, यो लेखमा यस व्यवस्था भित्रका कारणहरूको खोजी गरिएको हुनाले व्यवस्था कै विकल्पको बहस यहाँ गरिएको छैन ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७