• २०८३ असार १३
  • 2026 June 27, Saturday

टोपबहादुर रायमाझीको ‘बिरामी पत्र’ बोक्ने व्यक्तिकाे खाेजी, संसदबाट प्रहरीले मगायाे ‘सीसीटीभी फुटेज’

काठमाडौं । प्रहरीले टोपबहादुर रायमाझीको बिरामी पत्र बोक्ने व्यक्तिको समेत खोजी तीव्र पारेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका पूर्वउपप्रधानमन्त्री रायमाझीले सांसद पद जोगाउन आफू बिरामी भएर उपचार गराइरहेको पत्र वैशाख २५ गते सभामुखसमक्ष पुर्‍याएका थिए ।

खोजी जारी राखे पनि फेला नपरेका रायमाझीले संसद् सचिवालयमा बिरामी भएर उपचार गराइरहेको पत्र पठाएपछि प्रहरीले उक्त पत्र पर्‍याउने व्यक्तिको पहिचान गराइदिन संसद सचिवालयलाई लिखित अनुरोध नै गरेको पाइएको छ ।

संसद्का प्रवक्ता एकराम गिरीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पत्र ल्याउने व्यक्तिबारे जानकारी दिन आग्रह गरेपछि उक्त दिनको संसद् सचिवालय परिसरको सिसिटिभी फुटेज नै उपलब्ध गराइएको जानकारी दिए ।

लगातार १० वटा बैठकमा अनुपस्थित भए सांसद पद नै गुम्ने भएकाले त्यसलाई रोक्न रायमाझीले सभामुखलाई आफू बिरामी परेर उपचारमा रहेको फर्जी पत्र पठाएका हुन् । उनलाई एमालेले मंगलबार सचिव पदबाट समेत निलम्बन गरेको छ ।