काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख एलिजा गौतमले कार्यकर्ता निराश हुँदा आक्रोशले बोल्नु आफ्नो कर्तव्य भएको बताएकी छन् ।
पार्टीका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गर्ने सर्वोच्च अदालतको फैसलापछि गौतमले मंगलबार साँझ चौधरीलाई रिहा नगरे देशमा आगो बल्ने चेतावनी दिएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’
आफ्नो बोलीको विषयमा टीकाटीप्पणी हुन थालेपछि गौतमले सामाजिक सञ्जालमार्फत पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केही बोल्नु र सरकारलाई खबरदारी गर्नु आफ्नो कर्तव्य भएको बताएकी हुन्।
उनले भनेकी छन्, ‘पार्टीले केन्द्रीय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ। अदालतको फैसला हाम्रो पक्षमा नआउदा लाखौं कार्यकर्ता निराश छन्। पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केहि बोल्नु, सरकार लाई खबरदारी गर्नु मेरो कर्तव्य हो ।’