काठमाडौं । राष्ट्रिय सभाबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० स्वीकृत भएको छ ।
राष्ट्रिय सभाको आज शुक्रवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेका त्यो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
यस्तै सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक २०७८ संसदबाट फिर्ता लिएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री भण्डारीले त्यो विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गरेका थिए। त्यो प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो ।