जनयुद्ध शब्द नीति तथा कार्यक्रममा समेटिएकोमा याेगेश भट्टराईको आपत्ति, कांग्रेस इतिहास अन्त्य हुने चेतावनी

काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले, नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्दै उनले एक नम्बर बुदाँमा जनयुद्ध शब्द राखिएको भन्दै त्यसलाई काङ्ग्रेसले स्विकार गर्छ भने नेपाली काङ्ग्रेसको इन्ड अफ द हिस्ट्रि यही नै हो भनेका हुन् ।

उनले भने, ‘नेपाली काङ्ग्रेसप्रति केही प्रश्न छ, पहिलो नम्बर बुदाँमा हाम्रो असहमति छ । विगतमा भएको आन्दोलनको व्याख्या गर्दै जनयुद्धको कुरा पनि भएको छ । २०७२ सालको संविधानपछि कुनै पनि सरकारी कार्यालयमा यो शब्दको प्रयोग भएको छैन् ।

पहिलो पटक प्रधानमन्त्रीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनु भएको छ ।
२०७२ सालको संविधानपछि कुनै पनि सरकारी कार्यालयमा जनआन्दोलन भन्ने शब्दको प्रयोग नभएको भन्दै उनले यो बुदाँ काङ्ग्रेसले स्विकार गर्छ भने काङ्ग्रेसको इतिहासको अन्त्य हुने बताए । ‘यो एक नम्बर बुदाँ काङ्ग्रेसले स्विकार गर्छ भने नेपाली काङ्ग्रेसको इन्ड अफ द हिस्ट्रि यही नै हो । काङ्ग्रेसलाई इतिहासले बाई बाई गर्न सक्छ ।’

उनले यो शब्दलाई स्विकार गर्ने नगर्ने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले नै जवाफ दिनुपर्ने बताए ।

‘यदि यो शब्दलाई स्विकार गर्नुहुन्छ भने यसको जवाफ शेरबहादुर देउवाबाट नै पाए हुन्थ्यो भन्ने लाग्छ । तर उहाँ कम बोल्नु हुन्छ, बोल्नु हुन्न किनभने उहाँ पार्टीको सभापति हुनुहुन्छ, आजको गठबन्धनको सबैभन्दा ठूलो दलको नेता हुनुहुन्छ । उहाँको स्विकृति विना यो नीति कार्यक्रम कसरी बन्यो होला भन्ने प्रश्न राख्न चाहान्छु ।’

नीति कार्यक्रमले कुन वर्ग र समुदायलाई लक्षित गरेको छ भन्ने प्रष्ट नभएको उनको तर्क छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१