
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ । शर्मा विदेशमन्त्री जयशंकरलाई भेट्न बिहीबार बिहान पुगेका थिए ।
सो क्रममा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । आगामी दिनमा यसलाई थप विस्तार गर्न दुबै पक्ष सकारात्मक बनेका छन् ।
‘आज बिहान नेपालका राजदूत डा शंकर शर्मालाई पाउँदा खुसी लाग्यो । हामीबीच गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो । आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्ध छौँ’, जयशंकरले ट्वीटरमार्फत भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणकाे चर्चा भइरहेकाे बेला राजदूत भारतीय विदेश सचिव भेट्न पुगेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा भने भएकाे छैन ।