काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सोमबार टुँडिखेलमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल अनुपस्थित भएका छन्।
प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन टुँडिखेलमा आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थ व्यक्तिलाई निम्ता दिने गरिन्छ।
अघिल्ला बर्षमा काठमाडौंका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको थियो। तर,यसपालि भने मेयर साह र उपमेयर डंगोल दुवै अनुपस्थित रहे। समारोहमा ललितपुरका मेयर चिरीबाबु महर्जन भने उपस्थित थिए।
महानगरका स्रोतले भने गणतन्त्र दिवसको समारोहमा मेयर र उपमेयरको अनुपस्थितिबारे जानकारी नभएको जनाएको छ। अघिल्ला वर्षहरूमा स्टेज व्यवस्थापनका लागि सरकारले महानगरलाई जिम्मेवारी दिने गरेकोमा यसपालि भने महानगर उक्त जिम्माबाट समेत पछि हटेको बुझिएको छ।
बालेन संघीय सरकारसँग असन्तुष्ट रहेका उनको अभिव्यक्ति र क्रियाकलापले देखाउँछ। यद्यपि मेयर र उपमेयर सोमबार गणतन्त्र दिवसका अवसरमा सोमबार टुँडिखेलमा आयोजित समारोहमा उपस्थित नहुनुको कारण भने खुल्न सकेको छैन। बालेनसँगै उपमेयर सुनिता पनि समारोहमा अनुपस्थित रहिन्।
टुँडिखेलमा सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत को उस्थितीमा औपचारिक समारोहको आयोजना गरिएको थियो।