‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने

काठमाडौं । सुर्खेतको विरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ को आयोजना हुने भएको छ ।

कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते महोत्सव हुने बताए । साथै उनले प्रदेशलाई चिनाउने र छायांकनको गन्तव्य बनाउने महोत्सवको उद्देश्य रहेको बताए ।

सोमबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्राली र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा उपस्थित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा छायांकनको गन्तव्य बनाउन संसदमा आवाज उठाउने बताए ।

कार्यक्रममा पूर्वराज्यमन्त्री कुन्ती कुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हाँस्यकलाकार हिमेश पन्त, मध्येपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्टार महेन्द्रबहादुर मल्ल, निर्देशक रामशरण पाठक, निर्माता रज्जु प्रधानलगायतको उपस्थिति थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७