निर्माता अभिषेक अग्रवालले फिल्म ‘आदिपुरुष’ को १० हजार टिकट निःशुल्क बाँड्ने

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘आदिपुरुष’ जुन १६ अर्थात असार १ गतेदेखि प्रदर्शन हुँदैछ ।

फिल्म प्रदर्शनअघि ‘द कश्मीर फाइल्स’ र ‘कार्तिकेय २’ निर्माताले ‘आदिपुरुष’ को १० हजार टिकट किनेका छन् । बुधबार निर्माता अभिषेक अग्रवालले भगवान श्रीरामको नाममा उक्त टिकट दान गर्ने घोषणा गरेका छन् ।

‘आदिपुरुष सबैले हेर्नुपर्ने फिल्म हो । श्रीरामप्रति मेरो भक्ति र आस्थाको कारण मैले तेलंगानाको सरकारी विद्यालय, अनाथालय र वृद्धाश्रमहरूलाई १० हजारभन्दा बढी टिकट निःशुल्क दिने निर्णय गरेको छु,’ उनले ट्विटरमा लेखेका छन् । साथै उनले टिकट पाउन एक फारम भर्न अनुरोध गरेका छन् ।

उनको उक्त निर्णयप्रति प्रतिक्रिया दिदै प्रभासले लेखेका छन्, ‘सर यो एकदमै सराहनीय कदम हो ।’

त्यस्तै ‘आदिपुरुष’ निर्माण टिमले पनि हनुमानका लागि हरेक हलमा एक सिट खाली राख्ने बताएका छन् ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको । कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन् ।

आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ ।

यो फिल्म हिन्दी, तेलुगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७