काठमाडौं । बलिउड अभिनेता अजय देवगन र दक्षिण भारतीय अभिनेता मोहनलालको फिल्म ‘दृश्यम ३’ एकसाथ प्रदर्शन हुने भएको छ ।
यी दुवै फिल्मलाई जीतु जोसेफले निर्देशन गर्नेछन् । फिल्मको छायांकन पनि एकसाथ हुने भारतीय सञ्चारमाध्यम पिंकभिलामा उल्लेख छ ।
सन् २०१३ मा ‘दृश्यम’ को सुरूवात मोहनलाल र निर्देशक जोसेफले गरेका थिए । त्यसपछि अजय देवगनले सन् २०१५ मा हिन्दी रिमेक गरेका थिए । यो फिल्म तमिलमा कमल हसन र तेलुगुमा वेंकटेशले रिमेक गरेका छन् ।
मलयालम र हिन्दीमा ‘दृश्यम’ को दोस्रो संस्करण प्रदर्शन भइसकेको छ । यसैबीच ‘दृश्यम ३’ को तयारी भइरहेको छ ।
‘दृश्यम ३’ मा कहानीको अन्त्य हुने बताइएको छ । फिल्मको कहानी लिक नहोस् भनेर यी दुवै फिल्म एकसाथ प्रदर्शन गर्न लागिएको हो ।
मलयालम फिल्म ‘दृश्यम ३’ मा मोहनलाल जर्ज कुट्टीको भूमिकामा देखिनेछन् भने हिन्दी फिल्म ‘दृश्यम ३’ मा अजय देवगन विजय सलगाउँकरको भूमिकामा देखिनेछन् । सन् २०२४ मा फिल्मको छायांकन सुरू गरिनेछ ।
अजय देवगनको फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’ बक्स अफिसमा हिट भएको थियो । त्यस्तै मोहनलालको फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’ पनि हिट सावित भएको थियो ।
यो फिल्मको रिमेक कोरियामा पनि बन्ने भएको छ । कोरियन रिमेकमा अजयले निर्वाह गरेको भूमिकामा ‘प्यरासाइट’ का अभिनेता सुङ काङ देखिनेछन् ।
यो दक्षिण कोरियामा रिमेक हुने पहिलो भारतीय फिल्म हो । कोरियन रिमेकलाई किम जी वनले निर्देशन गर्नेछन् । ‘दृश्यम’ को रिमेक भए पनि फिल्ममा केही परिवर्तन हुने भारतीय सञ्चारमाध्यम दैनिक जागरणमा उल्लेख छ ।