काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल भारतीय पक्षले नेपालको भूमि अनधिकृत रूपमा नापजाँच गराएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा सांसद अर्यालले असार १ गते इण्डियन नेशनलको हाइवेको सर्भे गर्ने भन्दै कञ्चनपुरको भूजेला गड्डा चौकी हुँदै सुकासालसम्मको भूभाग नापेको जनकारी दिएका हुन् ।
उनले भने ‘भारतीय पक्षले नेपालको भूमि अनाधिकृत रुपमा नापजाँच गरेको कुरा सदनलाई जानकारी गराउन चाहन्छु असार १ गते भारतीय प्राविधिकहरूको टोलीले इण्डियन नेशनलको हाइवेको सर्भे गर्ने भन्दै कञ्चनपुरको भूजेला गड्डा चौकी हुँदै सुक्कासालसम्मको भूभाग नाप गरे । ’
उक्त विषयमा सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो ? भनेर सरकारसँग प्रश्न गरे ।
उनले भने, ‘भारतीय प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत पाएनन् । के उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो । म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’
उनले अरु सुरक्षाकर्मीले सुइँको नपाउँदा स्थानीयहरूले गलत काम भएको भन्दै प्रहरीलाई जानकारी गराएको बताए ।
नेपाली पक्षलाई जानकारी नै नगराई एकतर्फी रूपमा भूमि नापजाँच गर्ने कुरा सामान्य नभएको भन्दै सो घटनाको सत्य तथ्य छानबिन गराउन गृहमन्त्रीसँग उनले माग गरे ।