• २०८३ असार १३
  • 2026 June 27, Saturday

मनिष झाको कटाक्ष- बाढीपहिरोले मानिस मरिरहेका छन्, गृहमन्त्री मोर्चा बनाउन व्यस्त हुनुहुन्छ(भिडियाे)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपहिरोका कारण मानिसको मृत्यु भइरहँदा सरकारले चासो नदिएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘मृत्युभन्दा पनि ठूलो डर मरिन्छ कि भन्ने हुन्छ । त्यो पीडाले सधैँ मारिरहेको हुन्छ । प्राथमिक उपचार नपाएर ताप्लेजुङमा मृत्यु भयो । आज पहाडमा जोखिम छ । भोलि तराई-मधेश जोखिममा हुनेछ । गृहमन्त्रीको तयारी के छ जानकारी पाएका छैनौँ । उहाँ मोर्चा बनाउन व्यस्त हुनुहुन्छ ।’

उनले बाढीपहिरोलगायतका जोखिम नियन्त्रणका लागि भइरहेको तयारीबारे सरकारसँग जवाफ माग गरे ।

वर्षात्‌का कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरू संसदमा बेखबर रहेको भन्दै आक्रोशसमेत व्यक्त गरे । सांसद झाले बाढीपहिरोका कारण नागरिकहरूमा मरिन्छ कि भन्ने डर बढ्दै गइरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोप लगाए ।

सांसद झाले आफूहरूले विपद व्यवस्थापनबारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसबारे संसदलाई जानकारी गराउन ढिलाइ गर्न नहुने बताए ।