• २०८३ असार १४
  • 2026 June 28, Sunday

५ सय ३६ गर्भवती तथा सुत्केरीको हवाई उद्दार भएको मन्त्री आचार्यको भनाई

काठमाडौं । महिला, बालबालिक तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले राष्ट्रपति महिला सशक्तिकरण आयोजना अन्तरगत हालसम्म ५ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार भएको जानकारी दिएका छन् ।

आज आईतवार प्रतिनिधि सभा बैठकमा उनले मन्त्रालय अन्तरगतको रुपान्तरणकारी आयोजनाको रुपमा कार्यान्वयनमा रहेको राष्ट्रपति महिला सशक्तिकरण आयोजना अन्तरगत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवतीको उद्दार गर्नुको साथै आगामी वर्षमा परियोजनालाई थप परिमार्जन गर्ने बताए ।

उनले भने, ‘मन्त्रालय अन्तरगतको रुपान्तरणकारी आयोजनाको रुपमा कार्यान्वायनमा रहेको राष्ट्रपति महिला सशक्तिकरण आयोजना अन्तरगत हालसम्म ५ सय ३६ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरि महिलाहरुको जीवन रक्षामा सहयोग गरिएको अवस्था छ । र आगामी आर्थिक वर्षमा यस कार्यक्रमको प्रभावकारीता अध्यन गरि उक्त परियोजनालाई थप परिमार्जन गरि निरन्तरता दिने कार्यक्रम रहेको छ ।’

यस्तै, उनले लैङ्गिक हिंसा र मानव बेचबिखनबाट पीडित महिलाहरुका लागि रोजगारमूलक तालिम दिएर महिलाहरुको आर्थिक अवस्था सुधार गर्ने काम भएको पनि बताए ।

उनले भने, ‘दलित समुदायका, अल्पसंख्यक, अति सिमान्तकृत समुदायका लैङ्गिक हिंसा र मानव बेचबिखनबाट पीडित प्रभावित र विपन्न महिलाहरुका लागि रोजगारमूलक तालिम दिएर महिलाहरुको आर्थिक अवस्था सुधार गर्ने काम भएको छ । ’

१ सयवटा स्थानिय तहमा महिला उद्यामी समूहलाई उद्यामशिलताका लागि प्राविधिक सहयोगका साथ स्थानीय तहका महिला उद्यामशिलता विकास सहजीकरण केन्द्र सञ्जालन गरी महिलाहरुको उद्यामशिलता विकासमा टेवा पुर्याउने कार्यक्रम योजनामा रहेको पनि उनको भनाई छ ।