काठमाडौं । नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ।
पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ।
कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, साधारण र क्रियाशील।
कांग्रेसले अहिले साधारण सदस्यता अनलाइनबाटै लिन सक्ने व्यवस्था गर्न लागेको पराजुली बताउँछन्।
उनकाअनुसार क्रियाशील सदस्यता नवीकरणका लागि केही जिल्लाका क्षेत्रहरूमा फारमसमेत पठाइसकिएको छ।
अनलाइनबाट भरेको फारम वडादेखि केन्द्रसम्मका ७ तहमध्ये पार्टीको कुनै एक तह समितिले स्वीकार्छ र सदस्यता दिन्छ।
वडा, गाउँपालिका, प्रदेश र संघ क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय कार्यसमिति गरी सात तहमा संगठन संरचना छ।
महामन्त्री गगन थापाका अनुसार सूचना जारी गरेर अनलाइनबाटै सदस्यता खुला गरिनेछ। पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको उनले बताए।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ४६ हजार ७ सय २९ जना क्रियाशील सदस्य थिए।