• २०८३ असार १४
  • 2026 June 28, Sunday

रोष्टममा भाषण गरेर मात्रै समस्या समाधान हुँदैन : पूर्वमन्त्री कार्की

काठमाडौं । पूर्व सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले रोष्टममा भाषण गरेर मात्रै देशका समस्या समाधान नहुने टिप्पणी गरेका छन् ।

आज बसेको अर्थ समितिको बैठकमा उनले उत्पादन बढाउन देखा परेका समस्या समाधानका लागि आवश्यक ठोस छलफल गर्नुपर्ने भन्दै रोष्टममा भाषण गरेर समस्या समाधान नहुने तर्क गरे ।

उनले भने, ‘रोष्टममा बसेर उत्पादन लगाउन लगानी लग भनेर मात्रै हाम्रो जिम्मेवारी पूरा हुँदैन्, उत्पादन बढाउनका लागि कहाँ कहाँ समस्या छन्, के के समस्याहरु छन्, ती समस्याको हामीले मुख्य तरिकाले छलफल गर्नु जरुरी छ । तत्काल परिणाम दिने कृषि हो, कृषिलाई बजेट र दस्तावेजमा महत्व दिएका छौ तर कृषि उत्पादन बढाउनको लागि आवश्यक मल र विउको व्यवस्था गर्न सकेका छैनौ, यसको समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो र त्यो हामीले पूरा गर्नुपर्छ ।’

उनले रिमिट्यान्समा समस्या आयो भने अर्थतन्त्रमा प्रभाव पर्ने भन्दै यसको समाधानमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार गम्भीर भएर लाग्नु पर्ने बताए।

उनले भने, ‘रेमिट्यान्समा समस्या आयो भने हाम्रो अर्थतन्त्र कतातर्फ जान्छ । यसको स्थायी समाधानका लागि हामीले कस्तो सोच बनाउनु पर्छ त्यसमा हाम्रो समिति, अर्थ मन्त्रालय र नेपाल सरकार गम्भीर भएन भने मुलुकको समस्या समाधान हुन सक्दैन ।’

पुँजीगत खर्च बढाउनको विषयमा अर्थ मन्त्रालय र समितिका स्पष्ट हुनु आवश्यक भएको भन्दै आर्थिक वृद्धि, साधारण खर्च कटौती, विकासमा लगानी र यसको लागि नीति अवलम्बनको बारेमा पनि बहस जरुरी भएको बताए ।