काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले राजनीतिक दलहरुमा सरकारका निकायदेखि संघ संस्था सम्ममा देखिएको भागबण्डाको प्रवृति डरलाग्दो भएको बताएका छन् ।
मंगलवार अर्थ समितिको बैठकमा समिति सभापति चयनको माग गर्दै राजनीतिक दलमा भागबण्डाको सिन्डिकेट डरलाग्दो रुपमा दखिएको उनले बताए ।
उनले भने, ‘अर्थ समितिको विधिवत सभापति हामीले कहिले पाउछौं ? यसमा पनि भागबण्डा नमिलेर चुनाव नभएको हो की ? जहाँ पनि भागबण्डा ! रेडक्रस जस्तो संस्थामा समेत भागबण्डा ! कस्तो सिन्डिकेट । अरु दलाली गर्नेको सिन्डिकेट भन्दा पनि राजनीतिक दलहरुको सिन्डिकेट मलाई अझ डरलाग्दो लाग्यो । यस्तो पनि हुन्छ २१ औं शताप्दिमा ।’
बैठकमा उनले असारे प्रवृतिको विकासले निकास नदिने भन्दै उक्त प्रवृतिलाई रोक्न समितिको ध्यानाकर्षण पनि गराएका छन् ।
सांसद श्रेष्ठले सहकारीको लागि वित्तीय नीतिको आवश्यकता औंल्याउँदै अनौपचारिक वित्तीय प्रणालीमा रहेको पैैसालाई राजस्व चुहावटको माध्यम बन्न बाट रोक्न अर्थमन्त्री र अर्थ सचिवलाई आग्रह गरे ।
‘अनौपचारीक वित्तीय प्रणालीमा भएको पैसामा हामीले ध्यान दिन सक्नुपर्यो । त्यो एकदम ठूलो समस्या हो । राजस्व चुहावट देखि सबै किसिमको वित्तीय अपराध हो त्यो । त्यसमा तपाईंहरु अझ सर्तक र चनाखो हुनुपर्छ । त्यहाँ अवसर पनि छ र भ्रष्टाचारको कालो धन पनि त्यहाँबाट धेरै निस्किन्छ,’ श्रेष्ठले भने ।