• २०८३ असार १४
  • 2026 June 28, Sunday

बजेटले संघीयता र मधेश प्रदेशको विकासलाई उपेक्षा गरेको सांसद देवकोटाको आरोप

काठमाडौं । राष्ट्रिय सभा सांसद डाक्टर खिमलाल देवकोटाले आर्थिक वर्ष २०८०-०८१ को बजेटले संघीयताको चाहानालाई उपेक्षा गरेको टिप्पणी गरेका छन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा उनले, सात प्रदेश मध्ये पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा विनियोजित बजेट तीनै प्रदेशको हित विपरित भएको टिप्पणी गरे ।

सबैभन्दा धेरै जनसंख्या र गरिबी रहेको मधेश प्रदेशलाई बजेटसंगै समानिकरण तथा विशेष अनुदानमा समेत सरकारले उपेक्षा गरेको उनको भनाई छ ।

उनले भने, ‘जनसंख्या सबैभन्दा धेरै मधेशमै छन् । गरीबको संख्या सबैभन्दा धेरै यही प्रदेशमा छ । कम मानव संसाधन सूचकांक भएको प्रदेश पनि मधेश हो । तर, दुर्भाग्य यो वर्षको बजेट विनियोजनमा अन्तर सरकारी वित्तिय हस्तान्तरण हेर्दा समानिकरण, विशेष अनुदान लगायत अरु चार अनुदानको कुरा गछौं मधेश प्रदेश विशेष र समानिकरण दुबैमा सात वटै प्रदेशमध्ये लास्टमा छ,’ उनले थपे, मैले यो बजेट विनियोजन पारदर्शी,न्यायोचित र मधेशको पक्षमा छ कसरी भन्न सक्छु ? यो बजेट, यो अनुदान संघीयता विरोधि त छदै छ, मधेशको विरोधी छ ।’

त्यस्तै उनले अघिल्लो बजेटको तुलनामा यो वर्षको बजेटको आकार घटे पनि त्यसको बाँडफाँटमा स्थानीय तहमा ११.५८ प्रतिशत र प्रदेशमा ३.८४प्रतिशत अनुदान रकम घटाउनु न्यायोचित नभएको बताएका छन् ।