• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सकियो गायक रोविन तामाङको पोष्टमर्टम, भिसेरा गर्न बाकी

काठमाडौं । गायक एवं कलाकार रोविन तामाङको पोष्टमर्टम सकिएको छ ।

काठमाडौंको  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार तामाङको पोष्टमर्टम गरिएको हो । मंगलबार साँझ ६ बजे काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ विष्णुमती चिस्यानीस्थित घरमा उनको निधन भएको थियो ।

उनको मुटुमा समस्या देखिए पनि मृत्युको यकिन कारण खुल्न बाँकी भएको अस्पातलका फरेन्सिक डाक्टर गोपाल चौधरीले जानकारी दिए । मृत्युको कारण पत्ता लगाउन रोविनको रगतको नमूना र भिसेरा संकलन गरिएको उनले बताएका छन् ।

‘उहाँको पोष्टमर्टम सकिएको छ । ब्लड र भिसेराको स्याम्पल संकलन गरेका छौं,’ उनले भने, ‘के कारणले मृत्यु भएको हो भन्ने अहिलेको लागि यकिनसँग खुल्न सकेन । तथापि उनको मुटुमा समस्या देखिएको छ ।’

उक्त संकलन गरिएको नमूना नेपाल प्रहरीको सेन्ट्रल फरेन्सिक साइन्स ल्याब्रटरी सामाखुसीमा विश्लेषण गरिन्छ । त्यहाँबाट रिपोर्ट आएपछि मात्रै विस्तृत मृत्युको कारण खुल्ने उनले बताए ।

‘भिसेरा भनेको चाहिँ लिभरको, किड्नीको टुक्रा र पेटमा भएका वस्तुको परीक्षण गरिने हो । त्यसको रिपोर्टबाट मात्रै यकिनसँग भन्न सकिन्छ,’ उनले भने ।

परिवारले रोविनको शव बुझिसकेका छैनन् ।

मंगलबार साँझ ६ बजे रोविन तामाङकी श्रीमती र दिदीले पटकपटक फोन गर्दा पनि उठाएका थिएनन् । रोविनले फोन नउठाएपछि उनकी दिदीले प्रहरीलाई बोलाएकी थिइन् ।

प्रहरीले सिँढी लगाएर झ्यालबाट हेर्दा उनी घोप्टो परेको अवस्थामा देखिएका थिए ।

घरको ढोका फोडेर भित्र हेर्दा उनको मृत्यु भइसकेको थियो ।