• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नाबालिग बलात्कार घटना : एलओडीका अर्का सञ्चालक पनि पक्राउ

काठमाडाैं । १६ वर्षीया नाबालिग बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रूदिलबल्लव सिंह पक्राउ परेका छन् ।

उनलाई आज बिहान ९ : ३० बजे कुपन्डोलबाट पक्राउ गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।

यसअघि एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाल बुधबार बालुवाटारबाट पक्राउ परेका थिए ।

नाबालिका बलात्कार घटनामा उनीहरूविरूद्ध असार १३ गते पक्राउ पुर्जी जारी भएको थियो ।

उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

यस घटनामा प्रहरीले जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरिसकेको छ ।

बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन् ।

१६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन् । यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो ।

घटना भएयता किशोरीकी ती साथी सम्पर्कविहीन छिन् । सुदन फाइबरको एक कम्पनी चलाउँछन् । उनको बागडोलस्थित अफिसमा पुर्‍याएर नाबालिगमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कार भएको खबर पाएपछि प्रहरीले सुदनलाई पक्राउ गरेको थियो ।