• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

धर्मगुरु श्रीनिवास आचार्यलाई रिहा गर्न साधुसन्तको माग, नगरे आन्दाेलन गर्ने चेतावनी

काठमाडौं । साधुसन्तहरूले धर्मगुरु आचार्य श्रीनिवास महाराजलाई रिहा गर्न माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनकपुरधामका साधुसन्तहरूले पक्राउ परेका धर्मगुरु आचार्यलाई तुरुन्त रिहा गर्न माग गरेका हुन् ।

बुधबार रामानन्दिय बैष्णव संघले जनकपुरधाममा पत्रकार सम्मेलन गरी धर्मगुरु श्री आचार्यलाई बिना सर्त तुरुन्त रिहा नगरे सम्पूर्ण साधुसन्त र हिन्दुवादीहरूले विरोध र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रामानन्दिय बैष्णव संघका अध्यक्ष एवं जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्री निवास आचार्यलाई रिहाई नगरेमा भोलि जनकपुरधाममा र्याली निकालेर प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने जानकारी दिए ।

श्री निवास आचार्यले गौहत्या गर्नेहरूप्रति चर्को अभिव्यक्ति दिँदै आत्मरक्षा स्वरुप खुकुरी देखाएर गौहत्याप्रति कडा टिप्पणी मात्र दिएको भन्दै महन्थ दासले गौहत्या गर्नेलाई कारबाही नगर्ने तर गौरक्षाप्रति टिप्पणी मात्र गर्नेलाई पक्राउ गर्नेप्रति घोर भत्र्सना एवं निन्दा गरे ।

असोज १२ गते गौहत्याविरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्याली कार्यक्रममा धर्मगुरु श्री निवास आचार्यले हातमा खुकुरी देखाउँदै गौहत्या गर्नेविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । सोही टिप्पणीहरू सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले मंगलबार साँझ सुनसरीबाट पक्राउ गरी आज उनलाई जनकपुरधाम ल्याउन लागेको छ ।