चल्दैजानेछ ओली, रबि र कैलाशको खेल

‘अफेन्स ईज द बेस्ट डिफेन्स’, अर्थात् आक्रामकता सुरक्षाको सर्वाधिक बलियो हतियार हो । यो उट्पट्याङ्ग पहिले कसले भन्यो, थाहा छैन । तर लेखनीमा उदृत पहिलो इतिहास खोतल्दा यस्तो भन्ने मान्छे अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंगटन हुन् भन्न सकिन्छ । सन् १७७६ मा बेलायती उपनिवेश विरुध्द स्वतन्त्रताको उद्घोष गर्ने अमेरिकाका जर्साब उनले सन् १७९९ मा भनेको यो कुरा आज संसारभरीका अधिनायकवादीहरुको मन्त्र भएको छ ।

अधिनायकवाद लोकरञ्जन र समाजवादको घोडा चढेर जनतामाझ निहुरिँदै आउँछ । प्रजातन्त्र नामको पध्दति निर्वाचित तानाशाहहरुका निम्ति ओछ्याईएको रातो गलैंचा हो । दोस्रो विश्व युध्दमा जर्मनीका समाजवादी तानाशाह अडोल्फ हिटलरलाई परास्त गरेपछि तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, ‘प्रजातन्त्र विश्वको सबैभन्दा गएगुज्रेको राजनीतिक पध्दति हो, तर यो भन्दा राम्रो अर्को व्यवस्था पनि आजसम्म भेटिएको छैन ।’

हिटलर शाकाहारी थिए । मदिरामा आसक्त थिएनन् । यौनेच्छाको मामिलामा उनी संयमित थिए । इभा ब्राउन बाहेक अरु कुनै नारीसँग उनको संसर्गको किस्सा सुनिएको छैन । तर उनले आर्यन रगत शुध्द बनाउने नाममा साठी लाख यहुदीको संहार गरिदिए । इतिहासमा उनको नाम लुसिफर भन्दा कलंकित छ ।

विन्स्टन चर्चिल ब्रेकफास्टमा पाउरोटीसँग स्कच पिउँथे । खानामा मासु नभई हुँदैनथ्यो । दक्षिण अमेरिकामा कोकीन उत्पादनले गति लिन थालेको थियो । उनी त्यसको सर्को लगाउन पनि धक मान्दैन थिए । नारीसँगको उनको बसाउठाबारे इतिहासमा अभिलेख छैन । तर पनि उनी लसपसका पारखी थिए भन्ने कुरा बेलायती टेब्लोईडहरुले खुब लेखेका छन् ।

अमेरिकामा जन्मिएर बेलायती संसद सदस्य भएकी महिला थिईन् एकजना– न्यान्सी एस्टर । चर्चिल र उनको जहिल्यै दन्तबझान हुने । एउटा समारोहमा न्यान्सीले चर्चिललाई भनिन्, ‘म तिम्रो स्वास्नी भए तिमीलाई चियामा बीष हालिदिने थिएँ ।’ चर्चिलले जवाफ दिए, ‘म त त्यो चिया सहर्ष पिउने थिएँ । तिमीलाई पुलीसले जे गर्ने हो त्यो गर्थ्याे ।’

अर्कोचोटी अर्कै समारोहमा चर्चिल अलि मातेका थिए, मदिरा बढी भएछ । लेडी एस्टरले भनिन्,‘ए चर्चिल, तिमी मातेको छौ ।’ चर्चिलको जवाफ थियो,‘म त भोली बिहान ब्यूँंझिँदा होशमा हुनेछु, तिमी चाहिं अहिले जस्ती कुरुप छ्यौ, त्यस्तै कुरुप देखिनेछौ ।’

केपी ओली

नेपाली राजनीतिक परिदृश्यमा पनि छन् यस्तै एक वाचाल चरित्र । नाम हो— केपी ओली । उखानटुक्काका भकारी । चर्चिलले बेलायतलाई युध्दमा जिताए । ओलीले नेपाली आकांक्षालाई सधैं धुलिसात तुल्याएका छन् । बाल्यकालमा लिम्बुहरुले खेदेर झापा पुगेको तुष छ उनमा । सोह्र बर्षमा नरसंहार गरेको सम्झनाले उनलाई कहिल्यै छोड्ने छैन । रौतहटमा लुकेर बस्दा अल्लारेपनाले गर्दा मोहनचन्द्र अधिकारीलाई समेत पक्राएको कुरा उनलाई अहिले क्रान्तिकारी रोमाञ्चक लाग्छ ।

मदन भण्डारी सक्रिय हुन्जेल उनले कुनै जिम्मेवारी पाएनन् । जेल बस्दा जसले स्याहार गरेको थियो, उनै राधाकृष्ण मैनालीले झापाबाट झिकाएको पैसाले पाटनमा लोकल ठर्रा र खैनीको जुगाड गर्ने अवस्था थियो । तत्कालीन माले पार्टीले राजधानी उपत्यकाका नेवार समुदायमा हेलेमेल गरेर केटी फसाउने निर्देशिका जारी गरेको थियो । इश्वर पोखेल देखि पार्टीका तल्लो तहका शंकर पोखरेल सम्मले आफ्नो ‘जिम्मेवारी’ पूरा गरिसकेका थिए । ओलीलाई पत्याउने कन्या फेला परेका थिएनन् । पार्टीकै मान्छे लागेर राधिका शाक्य फेला पारिदिए ।

बैंकमा काम गर्ने कार्यकर्ता पाएपछि ओलीको खाना, दाना, माना, छाना व्यवस्थित भएको हो ।

मदन भण्डारीको असामयिक निधन पछि एमालेका दोस्रो दर्जाका नेताहरुको भाग्य खुल्यो । माधव नेपाल बैंकका खजाञ्ची मात्र थिएनन्, सानो कदकाँटीका हिटलर जुंगे उनी संगठन निर्माणमा निपुण थिए । महत्वाकांक्षाका महाधनी ओलीलाई माधव नेपालप्रति ईष्र्या हुनु स्वाभाविक थियो । मनमोहन अधिकारीको निधन पछि एमाले दुई कित्तामा बाँडिएको परिणाम आज जे छ त्यो त्यही हो ।

महाकाली सन्धी गरेर नेपालको जलस्रोत भारतको पोल्टामा सुम्पिनु बाहेक माधव र ओली कहिल्यै कुनै कुरामा एकमत छैनन् । यी दुवैमा को भारतको प्यादा बन्ने भन्ने कुरामा प्रतिस्पर्धा थियो र छ । माधव नेपाल आफूले आर्जेको पार्टीमा ओलीले गरेको दोहन देखेर कुपित छन् । ओली भारतको बिरोध गरेको नाटक गर्दै भारतकै हितमा छन् । एमाले कार्यकर्ता रनभूल्ल छन् । नेकपा (एस) भारतको अर्को स्लिपिंग सेल मात्रै हो । बुझ्नेले कुरा बुझेका छन् । शेर बहादुर गगन थापालाई अघि सारेर चुपचाप बसेका होईनन् ।

रबि लामिछाने

सन् २००६ मा अमेरिकाको न्यू जर्सीमा अमेरिका नेपाल असोसिएशन (एएनए) नामको एउटा संस्थाले आफ्नो बार्षिक कार्यक्रम गर्दैथियो । नेपालमा राजतन्त्र जाने निश्चित थियो । पंचायती व्यवस्था भत्काउन धेरथोर योगदान गरेका पत्रकारहरुको एउटा सानो समूह गफगाफमा मस्त थियो ।

अब के हुन्छ ? सबैको आआफ्नो विचार मन्थन चल्दैथियो । म आफ्नै तालले भन्दै थिएँ, ‘अब बेस्ट अमंग द वर्स्टलाई अघि लगाउने बाहेक अरु उपाय छैन ।’ अचानक एउटा ख्याउटे, लम्बु तर स्वर ठूलो भएको केटो ‘हो हो, उहाँले भनेको ठीक हो,’ भन्दै हाम्रो समूहमा मिसिन आयो । मैले सोधें, को हो यो ? एउटाले भन्यो, ‘मण्डले’ हो । यसको बाउ खुंखार राजावादी । दाई ‘मण्डले’ । रेडियोमा समाचार भन्छ । यो पनि त्यस्तै केही काम गर्थ्याे सिनेमाको बारेमा रिपोर्ट गर्थ्याे । करिश्मा मानन्धरको पति बिनोद मानन्धरको कारिन्दा थियो । अहिले यता आएर सब वेमा काम गर्छ । हिजोसम्म राजावादी थियो, अहिले क्रान्तिकारी भएको छ ।’

त्यो मान्छे अहिलेको रवि लामिछाने रहेछ । गगन थापा पनि त्यही छेक अमेरिका आउन लागेको थियो । फोन गरेर भनेको थियो, ‘दाई, भेट्नुपर्छ है, जसरी होस् । धेरै कुरा छन् गर्नुपर्ने ।’

गगनसँग भेट हुन सकेन । रवि लामिछानेसँग भेट्नु जरुरी थिएन । मैले नेपाल छोड्नु अघि जुन गगन थापा गिरिजाप्रसाद कोइरालाको लाइन विरुद्ध गणतन्त्रको नारा लिएर सडकमा संघर्ष गर्दैथियो। त्यो बेला रवि लामिछाने र एउटी पाकिस्तानी केटीको घनिष्ट सम्वन्ध रहेछ । आफ्नो परिवार छोडेको रहेछ । सब वे मा काम गर्ने अर्की नेपाली अभिनेत्रीसँग पनि उस्तै सम्वन्ध । उही मान्छे हाम्रो समूहमा आएर प्रजातन्त्र र यता र उताको कुरा गर्छ ! त्यहि बेला दुई ओटा बैंकको क्रेडिट कार्डको पैसा नतिरेर मुद्दा लागेको रहेछ ! मैले यो ‘बहुरुपी’ लाई देखेको त्यही बेला हो ।

सहकारीको मुद्दा के हुन्छ थाहा छैन, भोली सत्ता साझेदारीमा यो मान्छे कांग्रेस र गगन थापासँग मिलिदियो भने कुनै आश्चर्य हुनेछैन । नेपाल ठगहरुको लागि पसारिएको पासा हो ।

कैलास सिरोहिया

एकचालीस सालतिरको कुरा हो । भर्खर एसएलसी दिएर परिणाम कुर्दै गरेको बेला थियो । बागबजारमा मामाको साझेदारीमा चलेको एउटा छापाखाना थियो । आनन्द प्रिण्टिङ्ग प्रेस । बाहिर शो रुम थियो । सिरोहिया फर्निचर्स । सिरोहियाहरु त्यो बेला बर्माबाट आयातित टीक उडको विलाशी मेच, टेबल, पलंग आदि ईत्यादि बेच्थे । मालिक थिए कैलाश सिरोहियाका दाई गोपालप्रसाद सिरोहिया । कैलाश बिक्रीको दुई प्रतिशत कमीशन र तलबमा काम गर्थे । २०४३ सालको स्थानीय चुनावमा गणेशमानका लट्ठी हरिबोल भट्टराईले चुनाव जिते । कांग्रेसीहरुलाई अफिस सजाउन हतार भयो । उनीहरुले त्यो बेला तत्कालीन प्रधानपंचको कार्यालयका लागि झन्डै एक लाखको फर्निचर उठाएर लगे । कमिसनको खेल थियो । पैसा तिरेनन् । कैलाश सिरोहियाले ताकेता गरे । पैसा उठ्नु अघि नै हरिबोल भट्टराई एउटा सरकारी कार्यक्रममा उपस्थित नभएका कारण पदबाट निलम्बित भए । सिरोहियाको पैसा डुब्यो ।

बहुदल आयो । कैलाश र बिनोद ज्ञवालीले नमस्ते कार्पेट चलाए । विनोदका बाबु हेमराज ज्ञवाली पंचायतकालीन प्रशासक थिए । रविदेव शर्मा उद्योग विभागका निर्देशक । त्यो बेला घरेलु उद्योगलाई प्रोत्साहन दिन उन कात्ने ‘कार्डिङ्ग’ मेसीन प्रतिबन्धित थियो । तर नमस्ते कार्पेटले त्यो मेसिन राख्ने सुविधा पायो । गलैंचाबाट कमाएको पैसा कैलाश र विनोदले बाटो बनाउने ठेकेदारीमा लगाए । श्याम गोयन्काले शुरु गरेको कान्तिपुरलाई ‘होस्टाईल टेकओभर’ गरेपछि आफूले बनाएको बाटोका बारेमा आफैँले आफ्नै पत्रिकाबाट प्रचार गर्न थाले । एउटा समय यस्तो थियो, कान्तिपुरका मालिकहरु आफ्नो अन्य व्यापारमा तलमाथि हुँदा सरकारी कार्यालयका हाकिमहरुलाई भन्ने गर्थे, ‘सरुवा गराईदिउँ ?’

उपसंहार

उल्लिखित केही केवल उदाहरण हुन् । व्यक्ति आउँछ, जान्छ । प्रवृत्ति रहन्छ । उमार्ने, हुर्काउने समाज हो । नेपालमा राजनेता छैनन् । राजनीतिक उद्यमी प्रशस्त छन् । अर्काले खाएको रीस गर्ने, आफूले पाए दुई हातले खाने मतदाता हुन्जेल समाजमा ओली, रबि र कैलाशहरु खेलिरहन्छन् । हाम्रै थाप्लोमा ।

कैलाश सिरोहिया दूधले नुहाएको मान्छे होईन । उसका खेलमखेल अनुसन्धानको चटारोका लागि चिच्याउँदैछ । तर नागरिकताको सवालमा जाकिनुपर्ने मान्छे होईन कैलाश सिरोहिया । मधेशी मूलका मान्छेलाई नागरिकताको झोंकमा सेक्दैजाने हो भने चुच्चे नक्सा भारतलाई बुझाएर पंचायत टिकाएको खतबातमा शाहबंशमाथि राष्ट्रघातको मुद्दा लगाउनु जायज ठहरिन्छ ।

कुन चाहिं ढाकाटोपी दौरासुरुवालधारी राष्ट्रवादी तयार छ ?

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७