
काठमाडाैं । अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा ट्रक भीड भएको स्थानमा कुदाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो भएको स्थानमा त्यसरी ट्रक कुदाउँदा उनीहरू मारिएका हुन् ।
अमेरिकी सञ्चार माध्यम सिबिएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी कुदाएर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मानिसहरूलाई हत्या गर्ने इच्छा व्यक्त गरेको भिडिओ अपलोड गरेको पाइएको बताएका छन् ।
टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले पीडितप्रति समवेदना प्रकट गरे । उनले संदिग्ध व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएका छन् ।
आक्रमणकारी को हुन्?
एफबिआईका अनुसार भिडमा गाडी जोतेर हमला गर्ने संदिग्ध व्यक्ति टेक्सस राज्यका ४२ वर्षीय अमेरिकी नागरिक शमसुद-दिन जब्बर हुन्।
उनी पूर्व अमेरिकी सैनिक रहेको अधिकारीहरूले बताएका छन् । प्रहरीसँगको गोली हानाहानमा उनी मारिएका थिए ।
प्रहरीका अनुसार उनले ठूलो भिडमा तीव्र गतिमा पिकअप ट्रक कुदाएका थिए । त्यस क्रममा १५ जनाको ज्यान जानुका साथै अन्य ३५ जना घाइते भएका हुन् ।
संघीय जाँच ब्यूरो एफबीआईले भिडमा कुदाइएको ट्रकमा इस्लामिक स्टेट समूहको झन्डा भेटिएको जनाएको छ ।
उक्त घटनाका निम्ति ती व्यक्ति मात्र एक्लै जिम्मेवार नभएको र अन्य व्यक्तिको संलग्नता पनि हुनसक्ने न्यू अर्लिन्सका अनुसन्धानकर्ताहरूले बताएका छन् ।
आक्रमणमा प्रयोग भएको ट्रक र अर्को क्षेत्रमा सम्भावित विस्फोटक पदार्थहरू पाइएको पनि प्रहरीले जनाएको छ ।