अष्ट्रेलिया र स्पेनका लागि नेपाली राजदूतले गरे पदभार ग्रहण

काठमाडौ । स्पेन अधिराज्यका लागि नेपालका आवसीय राजदूत एवम् माल्टाका लागि गैरआवासीय राजदूत शनिल नेपालले स्पेन पुगेर पदभार ग्रहण गरेका छन् ।आफ्नो कार्यभार सम्हाल्न हिजो माघ ७ गते तदनुसार २० जनवरी २०२५ का दिन नेपालबाट सपरिवार स्पेन गएका नेपालले हिजो नै स्पेनको म्याड्रिड स्थित नेपाली राजदूतावासमा पदभार ग्रहण गरेका हुन् ।

त्यसअघि उनलाई म्याड्रिडस्थीत विमानस्थलमा दूतावासका कार्यवाहक राजदूतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए ।सरकारले उनलाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि गत भदौ २७ गते संसदीय सुनवाई भई संसदीय समितिबाट उनको नाम अनुमोदन भएको थियो।यस अघि उहाँलाई विसं २०८० माघ २६ गते राष्ट्रपति पौडेलले नै पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कार्तिक २३ गते पोर्चुगलमा दूतावास स्थापना गर्ने र उनलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो।

नेपाल सरकारले माल्टाको समेत जिम्मेवारी तोकेर राजदूत नेपाललाई पठाएकोमा माल्टामा रहेका नेपालीहरूले खुसी व्यक्त गरेका छन्। माल्टामा पछिल्लो समय रोजगारीका लागि नेपालीहरू जानेक्रम तीव्र रुपमा बढेको छ।त्यस्तै, अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले पनि राजदूतावासमा जिम्मेवारी सम्हालेकी छिन् । उनी १७ जनवरी २०२५ मा अष्ट्रेलिया पुगेकी थिइन् ।यादवलाई न्यूसाउ थवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्ष कृष्ण गिरीलगायतले विमानस्थलमा स्वागत गरेका थिए । पूर्वउपसभामुख र शिक्षामन्त्री समेत रहेकी उनी नेपाली काँग्रेसकी कोषाध्यक्ष पनि थिइन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले यसअघिका राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाएर यादवलाई राजदूत नियुक्त गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१