लोकगायक विमलराज क्षेत्रीले ‘लोकतान्त्रिक सांस्कृतिक अभियान’ गर्ने

काठमाडौं । लोकप्रिय गायक विमलराज क्षेत्रीले नेपाल सांस्कृतिक महासंघको आयोजनामा देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।

‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रमका नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रूपान्तरका महत्त्वपूर्ण घटनाहरू र भावी योजना देशभरका जनतासमक्ष पुर्याउन ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताइएको छ ।
नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपालको महत्त्वपूर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली कांग्रेसले सधैँ आत्मसात् गर्दै आएकोले पनि कांग्रेसका विषयमा जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले यो देशका लागि गरेको जति महत्त्वपूर्ण काम र गतिविधि अन्य कुनै पार्टीको छैन । ती सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन् । सांगीतिक माध्यमबाट ती सबै गतिविधि जनतामाझ अब पुग्छ ।’यस्तै, कार्यक्रममा गायक विमलराज क्षेत्रीले ‘विमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफूले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए ।उनले भने–‘मलाई सानैदेखि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो ।

संसारभर पुग्ने रहर थियो । त्यसको सुरुवात नेपाली सांस्कृतिक महासंघले गर्न लागेको छ । महासंघको सम्पुर्ण कार्यसमिति प्रति हार्दिक आभार व्यक्त गर्दछु।’ नेपाली कांग्रेसको इतिहास र भविष्यले आफूलाई सधैँ चिन्तित तुल्याएको बताउँदै गायक क्षेत्रीले नेपाली कांग्रेसको इतिहास बिस्तारै छोपिँदै गएकोले सबैको जानकारी जनमाझ लैजनका लागि आफ्नो अभियान महत्त्वपूर्ण हुने दाबी गरे ।उनले भने, ‘नेपाली कांग्रेसको बिचार, विकासको हाइवे बेलाबेलामा पहिरो आएर पुरिन्छ । नेपाली कांग्रेसको काम अन्यले जस लिने काम भएको छ ।’अभियानमा नेपाली कांग्रेस, जनता सुखदुखका गीतहरू समेत गाउने उनले जानकारी दिए ।

यही माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट समुद्घाटन सहित कार्यक्रमको सुरुवात हुनेछ । कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ ।त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ । विभिन्न तामझाम सहित सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायक विमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन् । कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजाना केसी, शिवहरी बैरागी, प्रभाकर शर्मा, ,ऋतु थापा, सन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षेत्री लगायतको समेत विभिन्न सांगीतिक प्रस्तुति रहनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१