• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भारतीय दूतावासले मनायो ७९औं स्वतन्त्रता दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले ७९औं स्वतन्त्रता दिवस मनाएको छ। सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डोत्तोलन गरेका थिए। भारतीय राष्ट्रिय गानको धुनसहित झण्डोत्तोलन गरिएको थियो।

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो। राष्ट्रपतिले सम्बोधनमा विगत ७८ वर्षमा भारतले विभिन्न क्षेत्रहरूमा गरेको उल्लेखनीय प्रगतिका बारेमा चर्चा गरेकी थिइन्।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका दिवंगत कर्मचारीका परिवारजनलाई सम्मान गर्दै ६ करोड ४० लाख भारतीय रुपैयाँ बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फन्ड चेक हस्तान्तरण गरेका थिए।

त्यस्तै, दूतावासले नेपालका सातै प्रदेशका २१ जिल्लामा रहेका ३९ वटा विद्यालय तथा पुस्तकालयहरूलाई पुस्तक अनुदान दिने घोषणा गरेको छ। यस कदमले ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीमा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरूले देशभक्ति झल्किने गीत र सांस्कृतिक प्रस्तुति दिएका थिए।