• २०८३ असार १०
  • 2026 June 24, Wednesday

जनयुद्ध दिवसको अबसर पारेर कालु गुरुङलाई सामाजिक बहिस्कार सुरु

काठमाडौँ । विवादित छविका व्यवसायी कालु गुरुङलाई सामाजिक बहिस्कार अभियान सुरु गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौँका मुख्य शहर र चोकमा पोष्टर टाँसेर गुरुङलाई सामाजिक बहिस्कार अभियान सुरु गरेको हो ।

गुरुङ जोडिएका विभिन्न प्रकरण र काण्डलाई पोष्टरमा बुँदागत रुपमा उल्लेख गरिएको छ । काठमाडौँका मीनभवन आसपास, चावहिल, सुन्धारा, चक्रपथ, साँखु, कलंकीलगायतका क्षेत्रमा पोष्टर टाँसेर सामाजिक बहिस्कार अभियान सुरु गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका एक नेताले जानकारी दिए ।

गुरुङले पहुँच र शक्तिको आडमा जनयुद्धकालमा कैलालीलगायत देशका विभिन्न ठाउँमा सामन्तको जग्गामा बसोबास गरिरहेका सुकुम्बासीको उठिबास लगाएको, मीनभवनस्थित गणेश अवाले परिवारको पूर्खौली जग्गा जबरजस्त कब्जा गरी उठिबास लगाउन लागेको, गुरुङ समुदायका सयौं व्यक्तिको करोडौं रकम अपचलन गरेको, नेकपा एमालेलाई जग्गादान गरेर युनिट गठी प्रकरण डिसमिस गर्न खोजेको, विभिन्न ठाउँमा सार्वजनिक तथा व्यक्तिका जग्गा हड्प्ने गरेको, सामन्त तथा भूमाफियाका जग्गामा बसोबास गरिरहेका सुकुम्बासीको उठिबास लगाएको, भूखण्डकरण गर्ने गरेकोलगायतका विभिन्न आरोप पोष्टरमा लगाइएको छ ।

त्यसैगरी गुरुङमाथि प्लटिङको नाममा भक्तपुरमा सार्वजनिक राजकुलो समेत सरकारी कर्मचारीको सेटिङ्मा लुटेको, काठमाडौंको महराजगंजस्थित एक मोहीको जग्गा कब्जा गरेको, अन्तर्राष्ट्रिय अपराधिक समूहको अर्बौं रुपैयाँ नेपालमा अवैध रुपमा भित्र्याएर विभिन्न क्षेत्रमा अवैध काममा परिचालन गरेको, केही भ्रष्ट न्यायाधीशहरु, भ्रष्ट प्रहरीका अधिकृतहरु, भ्रष्ट सरकारी कर्मचारीहरु र केही भ्रष्ट नेताको अरबौंको अवैध धनलाई परिचालन गर्ने गरेको पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीले गम्भीर आरोप लगाएको छ ।
त्यसैगरी केही ठूला भनिएका संचारमाध्यमका मालिकलाई अपार्टमेन्टको लोभ देखाएर गणेश अवाले परिवारको उठिबास लगाउन लागिपरेको आरोप समेत लगाइएको छ । सामाजिक बहिस्कार गर्नुका १५ कारण यस्ता छन्