
काठमाडौं ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले नयाँ प्रकारको हतियारको परीक्षण सफलतापूर्वक गरेको छ, जुन गैरपरमाणु हाइड्रोजन बम हो। यसको विशेषता के भने, यो बममा कुनै पनि आणविक पदार्थ प्रयोग गरिएको छैन।
गत महिना प्रकाशित एक वैज्ञानिक अध्ययनअनुसार, चिनियाँ वैज्ञानिकहरूले हाइड्रोजन-आधारित विस्फोटक उपकरण निर्माण गरेर परीक्षण गरेका हुन्। उक्त बम चीनको चाइना स्टेट सिपबिल्डिङ कर्पोरेसन (CSSC) अन्तर्गतको ७०५ रिसर्च इन्स्टिच्युट द्वारा निर्माण गरिएको हो, जुन पानीमुनि प्रयोग हुने हतियार विकासका लागि प्रख्यात मानिन्छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, परीक्षणमा दुई किलोग्राम वजनको यस बमले १,००० डिग्री सेल्सियस तापमानको आगोको गोला उत्पन्न गरेको थियो, जुन दुई सेकेन्डभन्दा बढी समयसम्म कायम रह्यो।उक्त बम म्याग्नेसियम हाइड्राइड (Magnesium Hydride) मा आधारित छ – यो चाँदीजस्तो देखिने पाउडर हो, जसले प्रेसराइज्ड हाइड्रोजन ट्यांकीभन्दा बढी हाइड्रोजन भण्डारण गर्न सक्छ।
वैज्ञानिकहरूका अनुसार, यस बमको आगोको गोला यति तातो हुन्छ कि यसले आल्मुनियमजस्ता धातु पगाल्न सक्ने क्षमतासमेत राख्छ। परीक्षणका क्रममा देखिएको आगोको प्रभाव TNT विस्फोटको तुलनामा धेरै लामो समय टिकेको पाइयो – जहाँ TNT फायरबल करिब ०.१२ सेकेन्डमै सकिन्छ, यो बमको फायरबल भने पूरा दुई सेकेन्डसम्म रहेको थियो।यस आविष्कारलाई भविष्यमा विभिन्न सैन्य र औद्योगिक प्रयोजनमा प्रयोग गर्न सकिने अनुमान गरिएको छ। परमाणु हतियारको विकल्पको रूपमा गैरपरमाणु तर अत्यधिक उष्णता उत्पादन गर्न सक्ने यस्तो प्रविधिलाई विश्वभर चासोका साथ हेरिएको छ।