• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भारत–पाकिस्तान तनाव चुलिँदै, कश्मीरमा डर र त्रासको वातावरण

काठमाडौं । पाकिस्तान र भारतबीचको तनाव चुलिँदै गएपछि कश्मीर क्षेत्रका बासिन्दाहरूले सम्भावित द्वन्द्वको त्रासमा खाद्यान्न तथा अत्यावश्यक सामग्री भण्डारण गर्न थालेका छन्।

अप्रिलको अन्त्यदेखि दुई देशबीचको सम्बन्धमा चिसोपन बढ्दै गएको छ। पाकिस्तानले सोमबार तीन दिनको अन्तरालमा दोस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेपछि र भारतले आफ्ना धेरै राज्यहरूलाई सुरक्षा अभ्यासमा तयारी गर्न निर्देशन दिएपछि द्विपक्षीय तनाव थप गहिरिएको हो।

विवादित कश्मीर क्षेत्रलाई विभाजन गर्ने नियन्त्रण रेखा (LOC) नजिकका बस्तीहरूमा त्रासको वातावरण फैलिएको छ। विशेषगरी आजाद कश्मीरमा सैनिक गतिविधि बढेपछि स्थानीयले चामल, गहुँ, दाल, तेल र चिनी जस्ता आवश्यक सामग्री थोकमा संकलन गर्न थालेका छन्।

स्थानीय प्रशासनले उच्च जोखिममा रहेका गाउँहरूमा आपूर्ति व्यवस्था सुचारु गर्न काम गरिरहेको बताइएको छ।‘हामीले गहुँ, दाल, चिनी, चामल र तेलजस्ता वस्तुहरू थुप्रै मात्रामा संकलन गरिसकेका छौं,’ एक स्थानीय बासिन्दा शाहिद अलीले भने।अर्का बासिन्दा मुहम्मद सलीमले भने, ‘सरकारले जुनसुकै बेला जे पनि हुन सक्छ भनेपछि मैले किन्न सक्ने सबै सामान किनेको छु।’

कश्मीरका हिउँले ढाकिने दुर्गम क्षेत्रमा जाडोयामका लागि वर्षौंदेखि पीठो भण्डारण गर्ने प्रचलन रहँदै आएको छ। तर अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै पाकिस्तानले सहज पहुँच हुने स्थानहरूमा पनि आपूर्ति भण्डारणको व्यवस्था विस्तार गरिरहेको छ।

यसबीच, भारत नियन्त्रित कश्मीरको पहलगाम नजिकैको एक प्रमुख पर्यटकीय स्थलमा अप्रिल २२ मा भएको आक्रमणमा भारतले पाकिस्तानमाथि संलग्नताको आरोप लगाएको छ, जसमा २६ जना सर्वसाधारणको ज्यान गएको थियो। तर पाकिस्तानले भने भारतको आरोपलाई कडासाथ अस्वीकार गरेको छ।