• २०८३ असार १४
  • 2026 June 28, Sunday

न्युजिल्यान्डमा मानिसभन्दा अझै भेडा धेरै

काडमाडौ । न्युजिल्यान्डमा मानिसभन्दा धेरै भेडा हुने परम्परागत ठट्टा अब इतिहास बन्ने संकेत देखिएको छ। पछिल्लो तथ्यांकअनुसार देशमा हाल करिब २ करोड ३६ लाख भेडा र ५३ लाख मानिस छन्, जसअनुसार प्रतिव्यक्ति भेडाको संख्या ४.५ मा झरेको छ।

सन् १९८२ मा प्रतिव्यक्ति २२ भेडा हुने न्युजिल्यान्डमा अहिले भेडाको संख्या झन् घटिरहेको सरकारी तथ्यांकले देखाएको छ। त्यतिबेला ऊन र मासु निर्यात देशको प्रमुख आम्दानीको स्रोत थियो।

घट्दो बथान र बदलिँदो व्यवसाय

ऊनको घट्दो मूल्य र विश्वव्यापी मागमा आएको गिरावटसँगै भेडापालक किसानहरू डेरी उद्योग र कार्बन अफसेटकोतर्फ आकर्षित हुन थालेका छन्। फेडरेटेड फार्मर्सका प्रवक्ता टोबी विलियम्सका अनुसार धेरै किसानहरूले अब खेतीयोग्य जमिनलाई पाइन वनमा परिवर्तन गरेर अन्य फाइदाजनक व्यवसाय रोज्न थालेका छन्।

सरकारी हस्तक्षेपको प्रयास

सरकारले खेतीयोग्य जमिनलाई कार्बन वनमा रूपान्तरण गर्न प्रतिबन्ध लगाउने र सार्वजनिक निर्माणमा स्थानीय ऊन प्रयोगलाई प्राथमिकता दिने नीति ल्याए पनि ती उपायले भेडाको संख्या घट्नबाट जोगाउने अपेक्षा गरिएको छैन।छिमेकी अस्ट्रेलियामा पनि यस्तै अवस्था देखिएको छ, जहाँ अझै प्रतिव्यक्ति करिब ३ भेडा भए पनि राष्ट्रिय बथान घट्दै गएको छ।