
काठमाडौं । भारतका विभिन्न सीमावर्ती राज्यहरूमा रहेका २४ वटा विमानस्थल नागरिक उडानका लागि अस्थायी रूपमा बन्द गरिएका छन्। ती विमानस्थलहरूमा सुरक्षा स्थिति मजबुत बनाउन एयर मार्शलहरू तैनाथ गरिएको छ।
बीबीसीको रिपोर्ट अनुसार, पञ्जाब, जम्मू–कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशमा पर्ने यी विमानस्थलहरूमा असामान्य सुरक्षा सतर्कता अपनाइएको छ। भारतको नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले देशभरका सबै विमानस्थल तथा एयरलाइन्सलाई सुरक्षा उपायहरू कडा बनाउन निर्देशन दिएको हो।
यस निर्देशनअनुसार सबै यात्रुहरूको कडाइका साथ सुरक्षा जाँच हुनेछ भने टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ। एयरपोर्टहरूमा एयर मार्शलहरू पनि तैनाथ गरिँदैछन्।
एयर इन्डियाले यात्रुहरूलाई BCAS को हवाला दिँदै आन्तरिक उडानका लागि अब तीन घण्टा अगाडि नै विमानस्थलमा पुग्न अनुरोध गरेको छ। साथै, उडानभन्दा ७५ मिनेट अघि नै चेक–इन बन्द गरिनेछ।