
काठमाडौं । हमासको कब्जामा परेका नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीहरूले बताएका छन्। टाइम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार, जोशी जीवित छन् भन्ने कुनै पुष्टि हुने प्रमाण अहिलेसम्म फेला परेको छैन।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हाल २१ जना बन्धक जीवित रहेको र अन्य तीन जनाको अवस्थाबारे गम्भीर आशंका व्यक्त गरेको भोलिपल्ट अधिकारीहरूले विपिन जोशीको अवस्थाबारे जानकारी दिएका हुन्। मृत घोषणा नगरिएका ती तीन बन्धकमध्ये दुई जना विदेशी नागरिकमा नेपालका विपिन जोशी र थाइल्यान्डका पिन्टा नट्टापोङ रहेका छन् भने एक जना इजरायली नागरिक हुन्।
इजरायली सुरक्षा अधिकारीहरूले ती बन्धकहरूका परिवारलाई अवस्था बारे पहिले नै जानकारी गराइएको र विदेशी नागरिकहरूको परिवारलाई पनि इजरायली बन्धकका परिवारसरह सहयोग प्रदान गरिँदै आएको बताएका छन्।हाल हमास र अन्य आतङ्ककारी समूहहरूको नियन्त्रणमा ५९ जना बन्धक रहेको र तीमध्ये ३५ जनाको मृत्यु भइसकेको पुष्टि इजरायली पक्षले गरेको छ। मृत्यु हुनेहरूमध्ये ३२ जना इजरायली र ३ जना विदेशी नागरिक रहेका छन्।
गत वर्ष ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि अपहरणमा परेका विपिन जोशीलाई गाजातर्फ लगिएको थियो। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए।विपिनको अवस्था पत्ता लगाउन र सुरक्षित रिहाइ सुनिश्चित गर्न नेपाल सरकारद्वारा पटक–पटक आग्रह गरिए पनि ठोस प्रगति भएको छैन। उनका परिवारले प्रधानमन्त्री, विभिन्न दलका नेता, तथा इजरायली राजदूतलाई भेटेर जोशीको खोजीमा सहयोग गरिदिन अनुरोध गरेका छन्।