भारतको निर्देशनमा एक्सलाई ८ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश

काठमाडौं ।भारत सरकारले एक्स (पूर्व ट्विटर) लाई ८ हजारभन्दा बढी खाताहरू ब्लक गर्न निर्देशन दिएको खुलासा गर्दै, उक्त कम्पनीले बिहीबार एक विज्ञप्ति मार्फत यस्तो आदेशलाई ‘सेन्सरसिप’को रूपमा व्याख्या गर्दै अनिच्छापूर्वक पालना गरिरहेको जनाएको छ।

प्लेटफर्मका अनुसार भारतको सो आदेश आणविक–सशस्त्र छिमेकी मुलुकहरू भारत र पाकिस्तानबीच बढ्दो तनाव र घातक झडपको पृष्ठभूमिमा आएको हो। एक्सले जनाएको अनुसार पाकिस्तानका नेताहरू, सेलिब्रिटीहरू र मिडिया संस्थानहरूका खाताहरू मुख्यरूपमा लक्षित गरिएका छन्।

भारत सरकारले कुन सामग्रीले देशको कानुन उल्लंघन गरेको हो भन्ने प्रष्ट पार्न धेरै खाताका सन्दर्भमा विवरण नदिएको र केही मामिलामा त ब्लकको औचित्यसमेत पेश नगरिएको एक्सको भनाइ छ। कम्पनीले आफ्ना स्थानीय कर्मचारीहरूलाई जरिवाना र जेल सजायको सम्भावना रहेकाले भारतको आदेशमा निर्दिष्ट खाताहरूलाई ब्लक गर्न थालेको जनाएको छ।

“सम्पूर्ण खाताहरू अवरुद्ध गर्नु न केवल अनावश्यक हो, यो अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारविरुद्धको कदम हो,” कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ, “तर भारतमा एक्स पहुँचयोग्य राख्नु भारतीय नागरिकको सूचना पहुँचका लागि महत्त्वपूर्ण छ।”यो कदम मेटाले नयाँदिल्लीको आग्रहमा इन्स्टाग्राममार्फत एक प्रमुख मुस्लिम समाचार पेज प्रतिबन्धित गरेको भोलिपल्ट आएको हो।

हालै कश्मीरको मुस्लिम बहुल क्षेत्रमा पर्यटकमाथिको घातक आक्रमणपछि भारतले इस्लामाबादमाथि दोषारोपण गर्दै पाकिस्तान-नियन्त्रित क्षेत्रमा हवाई आक्रमण थालेको छ। सो हिंसात्मक भिडन्तमा हालसम्म सीमाका दुवै पक्षमा कम्तीमा ४८ जनाको मृत्यु भइसकेको छ।एक्सले कानूनी कारणले भारत सरकारका आदेशहरू सार्वजनिक गर्न नसकिने जनाएको छ तर प्रभावित प्रयोगकर्ताहरूलाई आवश्यक कानुनी उपचार खोज्न प्रोत्साहित गरेको छ। यद्यपि, कम्पनीले प्रभावित प्रयोगकर्ताहरूको नाम उल्लेख नगरे पनि भारतीय मिडियाहरूले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व परराष्ट्र मन्त्री बिलावल भुट्टो जरदारीका खाताहरू ब्लक गरिएको खबर दिएका छन्।यसअघि भारतले ‘उत्तेजक सामग्री’ फैलाएको आरोपमा दर्जनौँ पाकिस्तानी युट्युब च्यानलहरूमा पनि प्रतिबन्ध लगाइसकेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१