• २०८३ असार १४
  • 2026 June 28, Sunday

भारत-पाकिस्तान युद्धविरामपछि ३२ विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । भारत–पाकिस्तानबीचको हालैको तनावपछि सुरक्षाका कारण अस्थायी रूपमा बन्द गरिएका सबै विमानस्थलहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन्।

मे ७ मा बढ्दो तनावका कारण नागरिक उडानका लागि बन्द गरिएका ३२ वटा विमानस्थलहरू अब नागरिक उडानका लागि खुला गरिएका हुन्। भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै अब ती सबै विमानस्थलमार्फत् नियमित उडान पुनः सञ्चालन हुने जानकारी दिएको छ।प्राधिकरणले यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क राखी उडानसम्बन्धी जानकारी लिन र नियमित अपडेटको लागि एयरलाइन्सको वेबसाइट हेर्न सुझाव दिएको छ।

इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानका लागि खोलिएको जनाएको छ। तथापि, सेवा पूर्णरूपमा सामान्य हुन केही समय लाग्न सक्ने उल्लेख गरिएको छ।यात्रुहरूलाई अतिरिक्त समय लिएर विमानस्थल पुग्न र संभावित ढिलाइको पूर्वतयारी गर्न पनि सुझाव दिइएको छ।