• २०८३ असार १४
  • 2026 June 28, Sunday

आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर सहयोग जारी

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कोष सुविधा (ईएफएफ) कार्यक्रम अन्तर्गत पाकिस्तानलाई १ अर्ब २ करोड ३० लाख अमेरिकी डलर बराबरको दोस्रो किस्ता जारी गरेको छ।

आईएमएफले यो रकम मे १६ तारिखमा पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा प्रतिबिम्बित हुने जानकारी दिएको छ। यससँगै, कोषले पाकिस्तानको आगामी बजेटबारे भर्चुअल छलफल पनि सुरु गरेको छ।

यसअघि, आईएमएफको बोर्डले पाकिस्तानको आर्थिक सुधार कार्यक्रम अन्तर्गत पहिलो समीक्षाप्रति सन्तुष्टि जनाउँदै दोस्रो किस्ता जारी गर्ने निर्णय गरेको थियो।आईएमएफले पाकिस्तानको नीतिगत प्रयासहरूले विश्वव्यापी चुनौतीपूर्ण परिस्थितिमा पनि अर्थतन्त्र स्थिर बनाउन र लगानीकर्ताको विश्वास पुनर्निर्माण गर्न उल्लेखनीय प्रगति गरेको जनाएको छ।

संगठनका अनुसार पाकिस्तानले आर्थिक वर्ष २०२५ को पहिलो छ महिनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई प्रतिशत बराबरको प्राथमिक अधिशेष हासिल गरेको छ, जसले वर्षको अन्त्यसम्म २.१ प्रतिशतको लक्ष्य पुरा गर्ने संकेत दिएको छ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति पनि सुधारोन्मुख छ। अप्रिल २०२५ को अन्त्यमा सञ्चिति १० अर्ब ३ करोड डलर पुगेको छ, जुन अगस्ट २०२४ मा ९ अर्ब ४ करोड डलर थियो। अनुमानअनुसार २०२५ को अन्त्यसम्म यो रकम १३ अर्ब ९० करोड डलर पुग्नेछ।