• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सुर्खेत विमानस्थलको धावनमार्गमा एकाएक पानी निस्किएपछि उडान सेवा बन्द

सुर्खेतको वीरेन्द्रनगरस्थित विमानस्थलको धावनमार्गको भुईँबाट अचानक पानी निस्किन थालेपछि मंगलबारदेखि हवाई सेवा ठप्प भएको छ। विमानस्थल प्रमुख हिराजन काफ्लेले उत्तरतर्फको धावनमार्गमा एक्कासि खाल्डो पर्नुका साथै त्यस आसपासको जमिनबाट पानी निस्किएको जानकारी दिए।

खाल्डो पुर्ने काम भइरहेको बेला पुनः अर्को स्थानबाट पानी निस्किएपछि सुरक्षाका कारण विमानस्थल अस्थायी रूपमा बन्द गरिएको काफ्लेले बताए। हाल ती क्षेत्र पुरिँदै छन् र शनिबारसम्म सबै मर्मत कार्य सक्ने लक्ष्य लिएको उनले बताए। त्यसपछि मात्रै उडान पुनः सुरु हुने स्पष्ट पारिएको छ।

काफ्लेले समस्या समाधानका लागि भौगर्भिक अध्ययन आवश्यक भएको बताए। उनका अनुसार माथिल्लो भेगमा डाँडाकाँडा तथा आसपास खोलाहरू छन्, र जमिन खोतल्दा सतह मुनि पानी रहेको देखिएको हो।

विमानस्थल बन्द भएपछि यात्रुहरूलाई नेपालगञ्जबाट यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।

उक्त क्षेत्रमा धावनमार्ग विस्तारको योजना पहिल्यैदेखि थियो। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा केन्द्र र प्रदेश सरकारले करोडौं रुपैयाँ विनियोजन गरे पनि स्थानीयको सहयोग अभावले विस्तार योजना रोकिएको थियो।

हाल भने मुख्यमन्त्री यामलाल कँडेलसहित स्थानीय जनप्रतिनिधि र नेताहरू विस्तारप्रति सकारात्मक देखिएका छन्। तर, मुआब्जा वितरण र बजेटको व्यवस्थापन चुनौतीपूर्ण रहेकाले तत्काल स्रोत सुनिश्चितता गर्नुपर्ने अवस्था रहेको छ।