• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भारत–नेपाल सीमामा घुसपैठको आशंका: भारतले बढायो सेनाको सङ्ख्या

अपरेशन सिन्दूर’ पछिको घटनाक्रमसँगै पाकिस्तानबाट सम्भावित घुसपैठको डरले भारतले नेपालसँगको सीमामा सुरक्षा व्यवस्था कडा बनाएको छ। भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार करिब ३३ देखि ३७ जना पाकिस्तानी र बङ्गलादेशी नागरिकहरू नेपालमा रहेको र उनीहरू भारत प्रवेश गर्न खोजिरहेको आशंका गरिएको छ।

भारतीय मिडियाका अनुसार यिनीहरू लखनउ, वाराणसी, अयोध्या र मथुराजस्ता संवेदनशील क्षेत्रमा आक्रमणको योजना बनाउन सक्ने बताइएको छ। यो सम्भावनालाई मध्यनजर गर्दै भारतले उत्तर प्रदेशको बहराइचदेखि बलरामपुरसम्मको सीमामा १,५०० जना सशस्त्र सीमा बल (एसएसबी) का अतिरिक्त जवान तैनाथ गरेको छ।

एसएसबीको ४२औँ बटालियनले दोहोरो गस्ती तीव्र बनाएको छ भने अतिरिक्त चौकी स्थापना गरी निगरानी बढाइएको छ। सीमाबाट आउने–जाने प्रत्येक व्यक्तिको परिचयपत्र अनिवार्यरूपमा जाँच भइरहेको छ। साथै, सीसीटीभीमार्फत निगरानी पनि भइरहेको जनाइएको छ।

बलरामपुरका एएसपी योगेश कुमारले एसएसबी र प्रहरीको संयुक्त टोलीले २४ सै घण्टा गस्ती गरिरहेको जानकारी दिएका छन्। स्थानीय गाउँ सुरक्षा समितिहरूलाई पनि सतर्क गराइएको छ। जारवा कोतवालीका इन्चार्ज गोविन्द कुमारले पीएससी जवान, प्रहरी र एसएसबीको संयुक्त गस्ती भइरहेको बताए। गुरुङ नाका चौकीबाट आवतजावत पूर्ण रूपमा रोकिएको छ।

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, श्रावस्ती, पिलिभित र लखिमपुर खेरी जिल्लाहरूमा उच्च सतर्कता अपनाइएको छ। भारतले सीमामा सुरक्षाबलको उपस्थितिलाई व्यापक बनाउँदै कुनै पनि अवाञ्छित गतिविधि रोक्न सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरेको छ।