हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा गएको जेठ १ गतेको राति हिमपहिरोपछि जोखिममा परेका स्थानीयका लागि बुधबार राहत सामग्री पुर्याइएको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार राहत सामग्रीहरू मोटरबाटो पुग्ने ठाउँसम्म गाडीमार्फत र त्यसपछि घोडा तथा खच्चर प्रयोग गरी तिलगाउँसम्म पुर्याइएको हो।
राहत स्वरूप १० क्विन्टल चामल, १०० लिटर तेल, २ क्विन्टल नुन, २ क्विन्टल चिनी, ३० क्विन्टल मैदा, १ क्विन्टल चिउरा, १ क्विन्टल भुजा, १० प्याकेट चिया, १० प्याकेट साबुन, आवश्यक औषधिहरू, १८ थान कम्बल, त्रिपाल र म्याट्रेस उपलब्ध गराइएको पाण्डेले जानकारी दिए।
साथै, अहिले आलु तथा सागसब्जीको बिउ रोप्ने समय भएकाले त्यसका बीउहरू पनि पठाइएको छ। हिमपहिरोका कारण खानेपानीको पाइप बगाएपछि त्यसको मर्मतका लागि १० बोरा सिमेन्ट र १८०० मिटर पाइप पनि पठाइएको छ।
पाण्डेले राहत सामग्री पुगिसकेको र अब हिमतालको अवस्थाबारे अध्ययन गर्न विज्ञसहितको टोली हुम्ला पुगेको जानकारी दिए।
तिलगाउँका ५० घरधुरीमध्ये १८ घरधुरीका ३२ जना अझै गाउँमै छन्। उनीहरू दिनको समयमा आफ्नै घरमा बस्ने तर राति जोखिमका कारण नजिकैको विद्यालय वा पालमा बस्ने गरेका छन्। हालसम्म घरमा ठूला क्षति नभए पनि जोखिम कायमै रहेकोले स्थानीयहरू सावधानी अपनाइरहेका छन्।