काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरू संविधानविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजतन्त्र पुनर्स्थापनाको नाममा भइरहेको आन्दोलन संविधान र लोकतन्त्रको प्रत्यक्ष उल्लंघन भएको बताए।
उनले भने, “प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी गतिविधि गर्नु संविधानको विपरीत हो। जसरी हत्या, हिंसा, लुटपाट र आगजनीमार्फत सरकारलाई चुनौती दिँदै राजतन्त्र फर्काउने प्रयास भइरहेको छ, त्यो स्वीकार्य छैन।”
मन्त्री गुरुङले जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा सरकारले भव्य रूपमा मनाउने तयारी गरिरहेको जानकारी गराउँदै सोही दिन राजावादी पक्षबाट गणतन्त्रविरोधी गतिविधि दोहोरिने आशंका व्यक्त गरे।
उनले थपे, “हामीले उनीहरूलाई सभा गर्न र बोल्न छुट दिएका छौं। त्यो हाम्रो कमजोरी होइन, लोकतान्त्रिक अभ्यासप्रति हाम्रो प्रतिबद्धता हो। तर यसलाई कमजोरी ठानेर निरन्तर संविधान विरोधी गतिविधि गरे सरकारले चुप लागेर बस्दैन। आवश्यक कदम उठाइनेछ।”
राजावादीहरूको गतिविधिमा प्रतिबन्ध लगाउने संवैधानिक अधिकार सरकारले राखेको भए पनि हालसम्म त्यो अधिकार प्रयोग नगरिएको स्पष्ट गर्दै उनले भने, “संविधानभित्र रहेर आन्दोलन गर्न पाइन्छ, तर संविधान मिचेर मुलुकलाई पछि फर्काउने कुनै पनि प्रयास सह्य हुने छैन। “उनले राजनीतिक सहिष्णुतालाई कमजोरी नभई लोकतन्त्रको मूल्यका रूपमा लिन आग्रह गरे।