काठमाडौँ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले “राजावादी गतिविधि नियन्त्रण गर्न प्रतिबन्धसमेत लगाउन सकिन्छ” भन्ने अभिव्यक्तिपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कडा आपत्ति जनाएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले गुरुङको भनाइलाई संविधानको घोर अपव्याख्या भएको बताएका छन्। उनले भने, “संविधानले कुनै पनि दल खोल्ने, विचार व्यक्त गर्ने र राजनीतिक गतिविधि गर्ने अधिकार दिएको छ। त्यसलाई तोडमोड गरेर प्रतिबन्धको कुरा गर्नु आपत्तिजनक र अलोकतान्त्रिक हो।”
श्रेष्ठले यस्तो अभिव्यक्ति जिम्मेवार पदमा बसेकाले दिन नहुने भन्दै सरकारको दृष्टिकोणप्रति चिन्ता व्यक्त गरे। उनले जेठ १५ गतेका लागि घोषित आन्दोलनमा राप्रपाको सक्रिय सहभागिता रहने स्पष्ट गर्दै भने, “देशलाई यथास्थितिबाट मुक्त गर्न संयुक्त आन्दोलन अपरिहार्य भएकोले हामी आ–आफ्नो तयारीमा जुटिरहेका छौं।”
सरकारबाट आएको धम्कीपूर्ण अभिव्यक्तिलाई उनले राजनीतिक असहिष्णुता र वैकल्पिक धारप्रति बढ्दो डरको संकेतका रूपमा बुझेको बताए। उनले आन्दोलनमा आम नागरिकको स्वस्फूर्त सहभागिता हुने विश्वास पनि व्यक्त गरे।