• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नेपाली कांग्रेसद्वारा देउवाको भनाइ भन्दै फैलिएको भ्रामक प्रचारप्रति आपत्ति

सत्तारूढ नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको भनाइ भन्दै राजसंस्थासम्बन्धी भइरहेको प्रचारप्रति आपत्ति जनाएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा देउवाको भनाइका रूपमा फैलाइएको भ्रामक र मनगढन्ते समाचारको खण्डन गरिएको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त संघीय, समावेशी र लोकतान्त्रिक गणतान्त्रिक संविधानको संरक्षण तथा प्रवर्द्धन गर्दै नागरिकलाई स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको शासन व्यवस्थाका लागि देउवा निरन्तर अग्रणी भूमिकामा रहँदै आएको जनाइएको छ।

राजसंस्थाबारे देउवाको भनाइ भन्दै झूटो सूचना फैलाइनु अनैतिक र आपत्तिजनक कार्य भएको उल्लेख गर्दै, उनले न भनेको, न बोलेको र न सोचेको कुरा संचारमाध्यममार्फत प्रचार गर्नु पत्रकारिताको मूल्य र मर्यादाविरुद्धको कार्य भएको कांग्रेसले स्पष्ट पारेको छ।

कांग्रेसले यस्ता कपोलकल्पित समाचारप्रति कडा आपत्ति जनाएको छ र प्राप्त उपलब्धिहरूको रक्षामा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै आम नागरिकलाई यस्ता भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेको छ।