काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला गाउँपालिकामा रहेको सहिद मार्ग स्तरोन्नतिका लागि बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताएका छन्।
ताराखोला गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले उक्त सडकलाई राष्ट्रिय राजमार्गसँग जोड्ने गरी विस्तार र कालोपत्र गर्न सरकारसँग विशेष पहल गर्ने बताए।
“सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि प्रयास भएको थियो, तर सफल भएन,” उनले भने, “यसपटक विशेष प्रयत्न गर्छौं, किनभने यो सडक स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण छ।”
पूर्वाधार विकासलाई माओवादी केन्द्रले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भौगोलिक कठिनाइ र सीमित स्रोतसाधनबीच पनि ताराखोला गाउँपालिकाले विकास र सेवा प्रवाहमा राम्रो उदाहरण प्रस्तुत गरेको बताए।
स्थानीय तहलाई प्रदेश राजधानीसँग पक्की सडकमार्फत जोड्ने सरकारी लक्ष्यअनुरूप २० किलोमिटर लामो सहिद मार्गलाई चार वर्षअघि नै कालोपत्र गर्ने सडकको रूपमा छनोट गरिएको थियो।
साथै, माओवादी केन्द्रले अघि बढाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले पार्टी र जनताको सम्बन्ध अझ बलियो बनाएको उनको भनाइ थियो।