• २०८३ असार १४
  • 2026 June 28, Sunday

इजरायली आक्रमणले यमनको अन्तिम विमान नष्ट, अन्तर्राष्ट्रिय समुदायद्वारा कडा निन्दा

काठमाडौं।  इजरायली हवाई आक्रमणबाट यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तिम विमान ध्वस्त भएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा गरिएको छ।

इजरायल र यमन दुवै पक्षका अधिकारीहरूले सानामा रहेको अन्तिम विमान ध्वस्त पारिएको पुष्टि गरेका छन्। संयुक्त राष्ट्रसंघका प्रतिनिधिले हवाई आक्रमणले यमनी नागरिकहरूको अत्यावश्यक यात्रामा प्रत्यक्ष असर पार्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघका राजदूतले संयम अपनाउन र नागरिक तथा पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुनअनुसार दायित्व निर्वाह गर्न आह्वान गरेका छन्।

हुथी विद्रोहीसम्पर्कित अल-मसिराह टेलिभिजनले “इजरायली आक्रामकता” को आलोचना गर्दै साना विमानस्थलको धावनमार्ग र यमनिया एयरवेजको विमानमाथि हवाई आक्रमण भएको जनाएको छ।

साना विमानस्थलका निर्देशक खालिद अल शैफले एक्स (पूर्व ट्विटर) मा पोस्ट गरेको भिडियोमार्फत ध्वस्त भएको विमान यमनिया एयरवेजको अन्तिम सञ्चालनमा रहेको विमान भएको जानकारी दिएका छन्।