• २०८३ जेठ २२
  • 2026 June 05, Friday

इजरायली आक्रमणमा ९ सन्तान गुमाएका प्यालेस्टिनी डाक्टरको अन्तत : पीडादायक निधन

काठमाडौं।  इजरायली आक्रमणमा ९ सन्तान गुमाएका प्यालेस्टिनी चिकित्सकको निधन गाजामा इजरायली हवाई आक्रमणमा आफ्ना १० मध्ये ९ सन्तान गुमाएका एकजना प्यालेस्टिनी चिकित्सक हम्दी अल नाजारको निधन भएको छ।

इजरायली आक्रमणमा गम्भीर घाइते भएका उनी केही दिन आइसियुमा उपचाररत थिए। अन्ततः घाउको कारण उनको ज्यान गएको अल जजिराले जनाएको छ।

डाक्टर नाजार गाजाको नासर अस्पतालमा कार्यरत थिए। इजरायलको आक्रमण हुँदा उनका ९ सन्तान एउटै घरमा रहेका बेला मारिएका थिए। तीमध्ये अधिकांश १२ वर्षमुनिका थिए। आक्रमण हुँदा उनी स्वयं घाइते अवस्थामा भेटिएका थिए।

उनकी पत्नी अला अल नाजार, जो आफैं पनि चिकित्सक हुन्, आक्रमण हुनु केही घण्टा अघि ड्युटीका लागि अस्पताल गएकी हुँदा ज्यान जोगाउन सफल भएकी हुन्। अहिले उनीहरूका १० मध्ये ११ वर्षीय एक मात्र छोरा बाँकी छन्।

डाक्टर नाजारको मृत्युअघि विश्व समुदायलाई मानवताको पक्षमा उभिन आग्रह गरेका थिए। पछिल्लो केही दिनयता इजरायलले गाजा क्षेत्रमा गरेका आक्रमणमा बालबालिकासहित दर्जनौँ नागरिकको मृत्यु भइरहेको छ।

क्षेत्रमा भोकमरी, औषधिको अभाव र स्वास्थ्य सेवा ठप्पजस्तै छ। आज विहानमात्र इजरायली हमलामा कम्तीमा २२ प्यालेस्टिनीको मृत्यु भएको खबर आएको छ।